कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नौ महिनाको अवधिमा लागूऔषध मुद्दामा काभ्रेबाट ३२ जना पक्राउ

काभ्रे — जिल्ला प्रहरी कार्यालय काभ्रेले नौ महिनाको अवधिमा लागूऔषध मुद्दामा ३२ जनालाई पक्राउ गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा ३२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नौ महिनाको अवधिमा लागूऔषध मुद्दामा काभ्रेबाट ३२ जना पक्राउ

पक्राउ परेकामध्ये १२ जना १८ देखि २५ वर्ष, १५ जना २६ देखि ३५ वर्ष, २ जना ३६ देखि ४५ वर्ष र ३ जना ५९ भन्दा माथि उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । उनका अनुसार, पक्राउ पर्नेमा युवा उमेर समूहका धेरै देखिएकाले यसको रोकथामका लागि युवा लक्षित सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार आयोजना गरेको लागूऔषधको प्रयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गरेको कार्यक्रममा कार्यालयले काभ्रेबाट यसै आर्थिक वर्षमा ३ सय २५ किलो ६९० ग्राम गाँजा, ३८ ग्राम खैरो हिरोइनजस्ता लागूपद्धार्थ प्रहरीले बरामद गरेको, लागूऔषध मुद्दामा ३२ जना पक्राउ गरेको, निषेधित र नियन्त्रित लागूऔषध कारोबार, औषधि वितरण तथा अनुगमन, लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बारेमा जानकारी गराइएको थियो ।

लागूऔषध प्रयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा सञ्चालित औषधि पसल, पुन:स्थापना केन्द्र, लागूऔषध कारोबार हुने शंकास्पद क्षेत्रहरुमा नियमित अनुगमन गर्नुको साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमका अनुसार विशेष गरेर युवा उमेरलाई लक्षित गरी जिल्लास्थित १३ वटै स्थानीय तहमा यस विषयसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । जसका लागि स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्ने उनले बताए ।

प्रकाशित : चैत्र २५, २०८० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×