कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रमिला श्रेष्ठका रसाइरहेका आँखा

कालीबहादुर खामलाई सक्कल मिसिलसहित उपस्थित गराउन आदेश

चितवन — प्रहरी नियन्त्रणमा रहेकालाई ल्याउँदा राखिने चितवन जिल्ला अदालत परिसरको गोलघरभित्र चार/पाँच प्रहरीसँगै एक जना बिना हत्कडी बसिरहेका थिए । गोलघरभन्दा डेढ सयमिटर पश्चिम चितवन बार एशोसिएसनको भवन अगाडि कुर्चीमा बसेर एक महिला घरी अदालत भवनतिर नियाल्थिन् घरी गोलघरतिर ।

रमिला श्रेष्ठका रसाइरहेका आँखा

गोलघरभित्र १५ वर्षअघि भएको हत्या काण्डमा मंगलबार मात्रै पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम त्यहाँ थिए । बारको भवन अगाडि थिइन् काठमाडौं कोटेश्वरकी रमिला श्रेष्ठ । रमिलाका श्रीमान् रामहरि श्रेष्ठको हत्या अभियोग लागे पनि पक्राउ नपरी फरार रहँदै आएका खाम मंगलबार काठमाडौंमा समातिए । राति नै चितवन ल्याएर बुधबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो ।

रमिलालाई पनि चितवन प्रहरीले बुधबार बिहान खाम काठमाडौंमा पक्राउ परेको बारे औपचारिक जानकारी गराएको थियो । खामलाई आजै अदालत लैजाने र जाहेरवाला भएका कारण आउनू भनेर प्रहरीले अनुरोध गरेपछि उनी नातेदार नारायणकुमार श्रेष्ठसँग भरतपुर आइन् । अदालती प्रक्रिया चलिरहेका कारण खाम गोलघरभित्र आदेश कुरिरहेका थिए । यता बाहिर बसेकी रमिलालाई आफन्तल फोन गरिरहन्थे । फोनमा कुरा गर्दागर्दै उनका आँखा रसाइहाल्थे । ‘१५ वर्षदेखिकै घाउँ हो । पटक पटक बल्झिरहन्छ,’ रमिलाले भनिन् ।

१० वर्षे सशस्त्र संघर्षलाई बिराम लगाएर शान्ति सम्झौता गरेपछि माओवादीका लडाकुहरु ०६३ मंसिर ५ पछि अस्थायी शिविरमा बस्न थाले । संविधानसभाको पहिलो निर्वाचनपछि ०६५ को सुरुवातमै पहिलो दलको रुपमा उदाएको माओवादी सत्तामा जान ठिक्क थियो । यही समयमा रमिलाको जिन्दगीमा ठूलो बज्रपात भयो ।

चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको तेस्रो डिभिजन मुख्यालयका कमाण्डर थिए कालीबहादुर खाम । खामलगायतका नेताहरुले तेस्रो डिभिजनको सम्पर्क कार्यालयका रुपमा काठमाडौं कोटेश्वर सरस्वती मातामार्गमा रहेको श्रेष्ठको घर भाडामा लिए । ‘मेनपावर कम्पनी’ राख्ने भनेर उनीहरुले घर भाडामा लिएका थिए । तल्लो तला भाडामा लगाएर श्रेष्ठ परिवार माथिल्लो तलामा बस्थे । अनामनगरमा उनीहरुको रेष्टुरेन्ट व्यवसाय थियो । ‘पाहुनाहरु आएका छन्’ भनेर डेरा मै खाने कुरा मगाएर पनि खाने गर्थे । त्यसरी खानेकुरा लिएर जाँदा माओवादीका नेताहरु देखा पर्न थाले । अनि उनीहरुले चाल पाए कोठा भाडामा लिएको म्यानपावर कम्पनी राख्न हैन रहेछ । तै पनि उनीहरुले आपत्ति जनाएनन् ।

०६४ चैत्र १४ मा हतियार र १७ लाख रुपैयाँ नगद हराएपछि घरधनीलाई पनि छानबिन सुरु गरे । ‘बटला भन्ने अर्को कमाण्डरले सोधपुछ गर्न लाने हो भनेर राति उठाएर लगे,’ रमिलाले भनिन् । अपहरणको शैलीमा श्रीमान्लाई रातारात लगेपछि उनी माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न गइन् । सत्तारोहण गर्ने तरखरमा रहेका दाहालले भने ‘केही भएको छैन, नआत्तिनु, खामले नै बोलाएर जिम्मा लाउँछन् ।’

तर खामले जिम्मा लगाउन कहिल्यै बोलाएनन् । १५ वर्षपछि बल्ल उनले खामलाई अभियुक्तका रुपमा चितवन जिल्ला अदालत परिसरमा टाढैबाट देखिन् । ‘आखिर त्यो हरायो भनिएको हतियार र पैसा त उही घरमै भेटिएछ । तर यही निहुँमा उनीहरुले मेरो श्रीमान्लाई कुटीकुटी मारे,’ रमिला यसो भन्दै एकाएक भक्कानिइन् । मान्छेको हत्या गरेर पनि न्याय दिन आलटाल गर्दै आएका कारण मनको चोट सधैं चहराइरहेको उनी बताउँछिन् ।


घटनापछि अवस्था सावर्जनिक गर्न भनेर आन्दोलित हुने चेतावनी दिएपछि माओवादीले परिवारलाई बल्ल शक्तिखोर शिविरभित्र श्रेष्ठको हत्या भएको बतायो । परिवार आन्दोलित भएपछि मात्रै शव बुझाएको थियो ।

कुटपिटबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएपछि साथमा गएका लडाकुहरु केशव अधिकारी तथा गंगाबहादुर थापाले कर गरेपछि श्रेष्ठको शव त्रिशुलीमा फालेको शक्तिखोर शिविरका अर्का बटालियन कमाण्डर गोविन्दबहादुर बटलाले बताएका थिए । तर बटलाको बयान विपरित श्रेष्ठको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तथ्य सार्वजनिक भएको थियो ।

मृत्यु भएर बैशाख २७ गते त्रिशूलीमा फालेको भनिएको श्रेष्ठको शव जेठ १२ गते फालेको भनिएको ठाउँभन्दा केही तल जुगेडी त्रिशूलीमै फेला परेको थियो । ‘शव बुझाउन त अनेक बाहना गरे । न्याय दिनुपर्नेमा पीडामाथि पीडा थप्दै गए,’ रमिलाले भनिन् ।

आरोपितहरुलाई पक्राउ पर्न आटटाल गरे । फरार रहेका तीन जनामध्ये १५ वर्षपछि एक समातिएका छन् । अझ दुई जना त फरार नै छन् । घटना भएको सात/आठ वर्षसम्म त उनले ठूलै संघर्ष गरिन् । फरार भनिएका खाम बौद्धमा समातिए भनेर प्रहरीले एक पटक जानकारी गराए । तर भोलिपल्टै हैन रहेछ भने । ‘यसो भनेको पनि सात आठ वर्ष भयो । मैले हार त मानेकी थिइन । तर सधैं यसैमा मात्रै लाग्न पनि गाह्रो हुँदो रहेछ । परिवार सम्हाल्ने जिम्मा पनि आफ्नै काँधमा थियो,’ रमिलाले भनिन् ।

घटना हुँदा उनका छोरा १२ वर्ष र छोरी सात वर्षकी थिइन् । छोराछोरीको पढाइ लेखाइले पनि उनलाई व्यस्त बनायो । खाम पक्राउ पर्दा एकतिर ढिलै भए पनि न्याय पाइएला कि भन्ने आशा पलाएको छ । अर्को तर्फ पुरानो घाउको खाटा फेरि उप्केको छ । ‘बटलालाई माग गरेको भन्दा कम सजायँ भयो । यो विषय अहिले सर्वोच्चमा विचाराधीन छ ।


पक्राउ परेका खामलाई के कस्तो सजायँ होला ? माग गरे बमोजिम सजायँ भए न्यायको अनुभुति हुन्थ्यो,’ उनी भन्छिन् । उनले यति भन्दै गर्दा अदालतबाट खामलाई सक्कली मिसिलसहित उपस्थित गराउनू भन्ने आदेश आयो । गोलघरभित्र बसेका खाम माक्स लगाएर बाहिर निस्किए । प्रहरीको गाडीको अघिल्लो सिटमा बसेर खाम प्रहरीको हिरासत कक्षमा फर्किए ।

खामलाई सक्कल मिसिलसहित उपस्थित गराउन आदेश

बुधबार चितवन जिल्ला अदालतमा उपस्थित गराएका माओवादी लडाकुको शक्तिखोरस्थित तेस्रो डिभिजनका तत्कालीन कमाण्डर कालीबहादुर खामलाई सक्कल मिसिलसहित उपस्थित गराउन आदेश भएको छ । बुधबार न्यायाधीश दयाराम ढकालले सक्कल मिसिल प्राप्त भएपछि उपस्थित गराउन आदेश गरेको चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए ।

काठमाडौंबाट राति चितवन नै पुर्‍याएका खामलाई बुधबार बिहान १० बजेपछि अदालत पुर्‍याएको जिल्ला प्रहरी प्रमुख एसपी भावेश रिमालले जानकारी दिए ।

रामहरि श्रेष्ठको हत्या प्रकरण सम्बन्धि मुद्दाको फाइल चितवन जिल्ला अदालतबाट सर्वोच्च अदालत पुगेको छ । सोही मुद्दासँग जोडिएका खाम अदालतमा उपस्थित भएपछि सर्वोच्चमा मिसिल पठाउन अनुरोध गरेको र भोलि बिहीबारसम्म सक्कल मिसिल आइसक्ने सम्भावना रहेको स्रेस्तेदार आचार्यले बताए । ‘मिसिल आएर अभियुक्तको बयान सकिएपछि थुनछेक आदेशका लागि बहस हुन्छ,’ स्रेस्तेदार आचार्यले भने । बहस सुनेपछि अभियुक्तलाई मुद्दा फैसला नहुँदासम्म थुनामा राख्न कारागार पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउने छ । मिसिलसहित उपस्थित गराउने आदेश आएपछि खाम चितवन प्रहरीकै हिरासतमा फर्केका छन् ।

रामहरि श्रेष्ठलाई विस २०६५ बैशाख १५ गते राति काटेश्वरबाट शक्तिखोर ल्याइएको थियो । श्रेष्ठको घरमा माओवादी सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । उक्त घरबाट १५ लाख रुपैयाँभन्दा बढी नगद र हतियार हराएको विषयमा छानबिन गर्नका लागि रामहरि श्रेष्ठलाई शक्तिखोर ल्याएको थियो ।

शिविरभित्रै बैशाख २७ गते श्रेष्ठको मृत्यु भएको थियो । पोष्टमार्टम रिपोर्टका अनुसार उनको मृत्यु कुटपिटका कारण भएको थियो । लडाकु शिविरभित्रै कुटपिटका कारण मृत्यु भएपछि रामहरिकी श्रीमती रमिला श्रेष्ठले शिविरका तत्कालीन ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटलासहित तेस्रो डिभिजनका तत्कालीन कमाण्डर कालीबहादुर खाम र लडाकुहरु केशव अधिकारी तथा गंगाबहादुर थापाविरुद्ध मुद्दा दिएकी थिइन् । तर बटला प्रहरीमा आए पनि अरु कोही पक्राउ परेनन् ।

बटला, अधिकारी र थापालाई सर्वस्वसहित जन्मकैदको सजाय माग गरिएको थियो । त्यस्तै तेस्रो डिभिजनका तत्कालीन कमाण्डर खामको आदेशमा उक्त घटना भएको हुँदा उनलाई १० देखि १५ वर्षसम्मको कैद सजाय माग गरेर मुद्दा दायर भएको थियो । अधिकतम सजाय माग गरे पनि प्रमाण नपुग्ने देखिएको भन्दै चितवन जिल्ला अदालतले ०६८ जेठ १७ मा बटलालाई तीन वर्ष मात्रै कैद हुने फैसला गरेको थियो । बटलालाई भएको सजायँ कम भयो भन्दै मुद्दाको बादी नेपाल सरकारले तत्कालीन पुनरावेदन र सर्वोच्च अदालतमा पनि निवेदन दिएको थियो ।

पुनरावेदन र सर्वोच्चले पनि जिल्लाकै फैसला सदर गरेको थियो । तर नेपाल सरकारले सर्वोच्चको निर्णय पनि पुनरावलोकन गर्न निवेदन दिएपछि ०७७ असोज १५ मा पुनरावलोकनका लागि स्वीकृति प्राप्त भएको थियो । त्यसैले मुद्दाको सक्कल फाइल सर्वोच्चमा छ । जाहेरवालको तर्फबाट रामहरि श्रेष्ठकी श्रीमती रमिला पनि बुधबार नै चितवन आइपुगेकी छन् । उनले १५ वर्षपछि अभियुक्त पक्राउ परेको हुँदा न्याय पाउने आशा बढेको प्रतिक्रिया दिइन् ।

प्रकाशित : चैत्र २१, २०८० १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?