२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

क्याम्पस प्रमुखको गोली हानी हत्या

बारा — कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको छ । आदर्श कोतवाल गाउँपालिका–२ खजुरियागाउँ घर भए पनि ४८ वर्षीय कुशवाह सदरमुकाम कलैयामा डेरामा बस्दै आएका थिए । 

क्याम्पस प्रमुखको गोली हानी हत्या

शुक्रबार साँझ मोटरसाइकलमा फर्किरहेका उनीमाथि बतरा र भटिनिया गाउँबीचको सडकमा बाइकमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । घटनास्थल कलैयाबाट २० किमिपूर्वमा पर्छ । प्रहरीका अनुसार बाइकमा आएको अज्ञात समूहले हानेको गोली उनको पिठ्युँमा लागेको थियो । घटनालगत्तै उनलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले हत्या आरोपमा २ जना शंकास्पदलाई पक्राउ गरिएको बताए । पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको भन्दै उनले थप विवरण सार्वजनिक गर्न चाहेनन् ।

खजुरिया गाउँमा माछापालन गर्दै आएका कुशवाह शुक्रबार माछा बेचेपछिको हिसाब किताब गर्न गाउँ पुगेका थिए । काम सकेपछि उनी एक्लै मोटरसाइकलमा माछा लिएर सदरमुकामस्थित डेरामा फर्किंदै गर्दा घटना भएको हो । आठ वर्षदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका कुशवाहमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषयमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन । क्याम्पसका सञ्चालक समितिका पूर्वअध्यक्ष प्रभुनाथ पटेलले भने कुशवाहलाई गाउँकै रिसइबीले हत्या भएको अनुमान प्रहरीले गरेको बताए । उनले भने, ‘उनी गाउँमा लामो समयदेखि जग्गाजमिनको विवादमा परेका थिए ।’

पछिल्लो झन्डै आठ महिनामा बारामा सार्वजनिक स्थानमा गोली प्रहार गरी हत्या भएको यो दोस्रो घटना हो । कात्तिक १३ मा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रूपेश सर्राफमाथि पनि गोली प्रहार गरी हत्या गरिएको थियो । त्यतिबेला मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्ति तीन राउन्ड गोली हानेर फरार भएका थिए ।

प्रकाशित : असार १, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x