कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

मुख्यमन्त्रीद्वारा प्रदेशसभाको अधिवेशन अन्त्य, छलफलका लागि नेताहरू काठमाडौंमा
अजित तिवारी

जनकपुर — मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ । 

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

जनमत पार्टी मधेश प्रदेशका प्रमुख सचेतक सञ्जय यादवले केन्द्रीय सत्ता गठबन्धनसँग मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल भइरहेको बताए । उनले जनमतको बटमलाइन नै मुख्यमन्त्री रहेकाले सत्ता साझेदार दलहरू त्यसमा सहमत हुने आशा व्यक्त गरे । ‘मधेशमा नयाँ सरकार बनाउनका लागि संघमा शीर्ष नेताहरूबीच छलफल भइरहेको छ,’ जनमत पार्टीका प्रमुख सचेतक यादवले कान्तिपुरसँग भने,‘मंगलबार साँझसम्म एउटा प्रस्ट तस्बिर आउने सम्भावना छ ।’

मधेशमा नयाँ सरकार गठनका लागि शीर्ष नेताबीच नै छलफल गरेर टुंगो लाग्ने भएपछि एमाले, माओवादी, जनमत र लोसपाका मधेश प्रदेश केन्द्रित नेता काठमाडौं लागेका छन् । लोसपा पार्टीका उपनेता उपेन्द्र महतोले आफू सिन्धुलीको बाटो हुँदै काठमाडौंतिर लागेको बताए । ‘हामी विकल्पमा पनि जान सक्छौं । तर, जसपासहितको कांग्रेस गठबन्धनमा बसेर सरकार बनाउनु हाम्रो लागि अप्ठ्यारो स्थिति हुनेछ,’ जनमत पार्टीका प्रमुख सचेतक यादवले भने ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबारका लागि बोलाइएको प्रदेशसभाको बैठक रोक्दै चालु अधिवेशन नै अन्त्यको सिफारिस गरेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार राति १२ बजेदेखि प्रदेश सभाको चालु दोस्रो अधिवेशन अन्त्य गरेकी छन् । ‘मंगलबार बिहानै अधिवेशन अन्त्य गरिएको एसएमएस आयो,’ जनमत पार्टीका प्रमुख सचेतक यादवले भने,‘अल्पमतमा परेको सरकारले गैरसंवैधानिक काम गरेको छ । हामीलाई शंका छ, बजेट अध्यादेशबाट ल्याउन खोजेको छ ।’

एमाले–माओवादीले सरकारको साथ छोडेपछि मधेशमा जसपा नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबीच सोमबार दिनभर वार्ता भए पनि सहमति हुन सकेन । एमाले, माओवादी, जनमत र लोसपा मिलेर मधेश प्रदेशमा नयाँ सरकार बनाउने समझदारी गरेको छ । कांग्रेस र जसपाले जनमत तथा लोसपालाई एमाले–माओवादी समीकरणमा जानबाट रोक्न खोजेका छन् ।

मधेशमा दुई खाले सत्ता समप्करणका लागि दलहरूबीच खिचातानी तीव्र बनेको छ । एमाले, माओवादी, जनमत र लोसपाबीच सत्ता साझेदारी हुँदा सरकार बनाउन बहुमत पुग्छ । एमालेको २५, माओवादीको ९, जनमतको १३ र लोसपाका ८ गरेर ५५ सांसद पुग्छ । मधेश प्रदेशमा १ सय ७ सांसद छन् । जनमत र लोसपालाई तानेर कांग्रेस, जसपा र नेकपा(एस) मिलेर अर्को सत्ता गठबन्धन बनाउने कोसिस पनि भइरहेको छ । यसो हुँदा कांग्रेसको २२, जसपाको १९, जनमतको १३, लोसपाको ८ र नेकपा(एस)को ६ गरी ६८ सांसद पुग्छ । मधेशमा एक–एक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको संघीय समाजवादी पार्टी भने सत्ता हेरफेरको दाउमा भने मौन छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×