कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

राजनीतिक किचलोले तीन पालिकामा कामकाज ठप्प

तलबभत्ता नपाएको भन्दै कर्मचारी र शिक्षक आन्दोलित
ओमप्रकाश ठाकुर

सर्लाही — राजनीतिक किचलोका कारण सर्लाहीका तीनवटा पालिकामा विकास निर्माण ठप्प छ । दुई पालिकामा ताला लगाइएको छ भने एक पालिकाले बजेट नै ल्याउन सकेको छैन ।

राजनीतिक किचलोले तीन पालिकामा कामकाज ठप्प

हरिपुर्वा नगरपालिकाले एक साताअघि मात्र नगरसभा गरेको थियो । तर उपप्रमुखसहित केही वडाध्यक्षले विरोध जारी राखेका छन् । त्यहाँ कर्मचारी तथा शिक्षकले तलबभत्ताको माग गर्दै आन्दोलन हुँदा कार्यालयको कामकाज ठप्प छ ।

जनप्रतिनिधिकै तालाबन्दीका कारण पर्सा गाउँपालिकाको कामकाज पनि ठप्प छ । कार्यपालिकाको बहुमत सदस्यले विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका छन् । चन्द्रनगर गाउँपालिकाले आठ महिना बितिसक्दासमेत बजेट ल्याउन सकेको छैन । यी तीनै पालिकामा राजनीतिक दलबीच बजेटमा भागबन्डा नमिल्दा कार्यालय सञ्चालनमा समस्या देखिएको छ ।

हरिपुर्वा नगरपालिकामा नगरसभा सम्पन्न भएको नगरप्रमुख विनोद साहको दाबी छ भने उपप्रमुख सुमित्रादेवी ग्वारिनले नगरसभा हुनै नसकेको दाबी गरिरहेकी छन् । प्रमुख पक्षले खाता सञ्चालनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पहल थालेका छन् । उता उपप्रमुख ग्वारिनले खाता सञ्चालन नगर्न कार्यालयलाई आग्रह गरिरहेकी छन् । तलबभत्ता नपाएको भन्दै कर्मचारी तथा शिक्षकहरू कार्यालयको कामकाज ठप्प पारेर तीन सातादेखि धर्नामा छन् । यहाँ पालिका तथा वडा कार्यालयको कामकाज ठप्प छ । हरिपुर्वाका १६ वटा सामुदायिक विद्यालय बन्द गरेर शिक्षक धर्नामा बसेपछि विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुन पुगेका छन् । शैक्षिक संस्था ठप्पले चैतमा हुने एसईईको तयारी गरिरहेका विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन् ।

नगरमा विरोध तथा अवरोधले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्तासमेत पाउन सकेका छैनन् भने विकास निर्माणको काम लामो समयदेखि अवरुद्घ छ । धर्नामा बसेका कर्मचारीले बाध्य भएर आन्दोलनमा होमिनुपरेको दुःखेसो पोखे । ‘तलब नपाउँदा घरव्यवहार धान्नै मुस्किल परेको छ, जनप्रतिनिधि जिम्मेवार नहुँदा हामीलाई समस्या परेको छ,’ केश्वर गरिब जनता माविका प्रधानाध्यापक सञ्जयकुमार यादवले भने, ‘तलब नआएसम्म धर्ना जारी रहन्छ ।’

हरिपुर्वाका प्रमुख साहले कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता सञ्चालनका लागि प्रयास भइरहेको बताए । तर कोलेनिका प्रमुख नहुँदा नगरपालिकाको खाता सञ्चालनमा आउन नसकेको जानकारी दिए । साह र खानेपानीमन्त्री महिन्द्र राय यादवबीचको टकरावले यहाँ प्रमुख प्रशासकीय अधिकृतसमेत टिक्न सकेका छैनन् । अहिले पनि हरिपुर्वा प्रमुख प्रशासकीय अधिकृतविहीन छ । अधिकृत शम्भुप्रसाद यादवको सरुवा भए पनि उनलाई रमाना नदिई राखिएको छ ।

पर्सा गाउँपालिकामा तालाबन्दीले सेवाग्राही मारमा परेका छन् । आन्दोलनमा होमिएका जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९/८० को आयव्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकताअनुसार हटाउनुपर्ने, स्थायी तथा करार वा दैनिक ज्यालादारीमा खटिएका कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरणसहित १९ बुँदे माग राखेका छन् । पर्सा गाउँपालिका–२ का वडाध्यक्ष राकेश रामले तालाबन्दी भएको दुई साता बितिसक्दासमेत समस्याको निकासका लागि कुनै पहल नै नभएको बताए ।

पालिका अध्यक्ष धिरेन्द्र रायले आफू व्यक्तिगत काममा व्यस्त भएकाले आन्दोलनरत जनप्रतिनिधिसँग छलफल हुन नसकको बताए । उनले केही दिनभित्रै आन्दोलित पक्षसँग छलफल गरेर समस्या समाधान गरिने जानकारी दिए । अध्यक्ष रायले जनप्रतिनिधिले माग गरेका सूचना र कर्मचारीहरूमा रहेका कमीकमजोरी सुधार गर्ने पक्षमा आफू रहेको बताए । गाउँपालिकाको कार्यालय बन्द रहे पनि वडा र अन्य मातहतका कार्यालय खुला रहेको उनको भनाइ छ ।

चन्द्रनगरमा पालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माण ठप्प छ भने आठ महिनादेखि ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीको समेत तलब रोकिएको छ । बहुमत नपुगेकाले बजेट ल्याउन नसकेको पालिका प्रमुख राजकुमार महतोले जनाए ।

चन्द्रनगरमा १५ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ, जसमध्ये ३ जना मात्र अध्यक्ष महतो पक्षमा छन् भने १२ जना उपाध्यक्ष गीता देवीसँग छन् । उनीहरूको एकआपसमा कुरा नमिल्दा बजेट आउन नसकेको हो । अध्यक्ष महतोले आफूले गाउँसभाका लागि पटकपटक प्रयास गरे पनि उपाध्यक्षसहित बहुमत सदस्यको अवरोधका कारण बजेट ल्याउन नसकिएको दाबी गरे । उपाध्यक्ष गीतादेवीले आफूहरूको चित्त नबुझेसम्म गाउँसभा हुन नदिने बताइन् ।

प्रकाशित : फाल्गुन १७, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×