२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जनकपुरबाट पठाएका ५ सय थरी कोसेली अयोध्यालाई हस्तान्तरण

सीताको माइत जनकपुरबाट लगिएको कोसेली उनको ससुराली आयोध्यास्थित राम मन्दिर ट्रष्टलाई हस्तान्तरण
अजित तिवारी

जनकपुर — भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि नेपालबाट लगिएको करिब ५ सयथरी कोसेली शनिबार हस्तान्तरण गरिएको छ । जनकपुर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई कोसेली हस्तान्तरण गरेका हुन् ।

जनकपुरबाट पठाएका ५ सय थरी कोसेली अयोध्यालाई हस्तान्तरण

जनकपुरको जानकी मन्दिर परिसरबाट बिहीबार लगिएको कोसेलीमा सुनचाँदीका गरगहना, फलफूल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृगारका सामग्री र फर्निचरलगायतका समान छन् । बाँसले बनाइएको चंगेरा (भाँडो) लाई रातो रंगले रंग्याएर रातो र पहेलो कपडाले कोसेली छोपिएको थियो ।

कोसेली हस्तान्तरण समारोहमा जनकपुर उपमहानगर प्रमुख मनोज साहले एउटा घरलाई चाहिने लगभग सबै सामग्री कोसेली लिएर आएको बताए । ‘हाम्री जनकपुरकी चेली सीताको ससुराली हो आयोध्या । उनको नयाँ घर (राम मन्दिर) बनेको छ, त्यो घरमा चाहिने सबै समान अर्पण गरेका छौं ।’

रामको ससुराली जनकपुरबाट आएको कोसेली लिँदै ट्रष्टका महासचिव रायले खुशी व्यक्त गरे । ‘माता सीताको माइतीबाट आएको कोसेली अद्भूत छ । यसले हामीलाई हर्ष प्रदान गरेको छ,’ उनले भने । फूलमालाले सजाइएका दुईवटा ट्रकमा कोसेली लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ दाससहित जनकपुरका करिब ५ सय भन्दा बढी मानिस बिहीबार अयोध्या प्रस्थान गरेका थिए । लामो विवादपछि आयोध्यामा निर्माण गरिएको राम मन्दिरमा जनवरी २२ मा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ ।

त्रेतायुगमा राम र सीताको विवाह हुँदा यसैगरी सयौं थरि कोसेली (भार) अयोध्या पठाइएको भनाइ छ । ट्रक, बस र जिप–कारमा कोसेली बोकेर अयोध्या प्रस्थान गरेका जनकपुरबासीलाई भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि र जानकी मन्दिरमा महन्थ रामतपेश्वर दासले बिदाई गरेका थिए ।

मुख्यमन्त्री यादवले हातमा कोसेली बोकेर जनकपुरको बिभिन्न भागको परिक्रमा गर्दै उनीहरुलाई बिदाई गरेका थिए । ‘माता सीताले ससुरालीमा नयाँ घर पाउनुभएको छ । हामी माइती पक्षका लागि यो सुखद खबर हो,’ मुख्यमन्त्री यादवले भने,‘त्यो नयाँ घरमा कुनै समानको अभाव नहोस भनेर ससुराली जनकपुरबाट कोसेली पठाइएको छ ।’

अयोध्याको राम मन्दिरमा प्रतिमा बनाउन यसअघि नेपालको कालीगण्डकीबाट दुईवटा शिला पठाइएको थियो । कालीगण्डकीबाट झिकिएको दुईवटा भिमकाय शिला कांग्रेस नेता निधिको नेतृत्वमा गत माघ १९ गते आयोध्या पुर्‍याइएको थियो ।

सीताको माइती जनकपुरबाट उनको ससुराली अयोध्या पठाइएको कोसेली करिव ५ सयभन्दा बढी थरिको रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । उनले कोसेलीमा जनकपुरवासी सबैको भावना समेटिएको बताए । ‘राम मन्दिर ट्रष्टबाट प्राणप्रतिष्ठामा सहभागी हुन आमन्त्रण गरेको छ । जनकपुर रामको ससुराली हो । खाली हात जाने कुरै भएन । त्यसैले एउटा घरमा चाहिने लगभग सबै समान लिएर अयोध्या पुगेर हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘हामीलाई बाटोभरि सर्वसाधारणबाट थप कोसेली प्राप्त भएको थियो । ठाउँ–ठाउँमा हामीलाई हर्षउल्लासपूर्वक स्वागत गरिएको थियो ।’

कोसेलीका आकर्षण चाँदीले बनाइएको तीर–धनुष र खराउ हो । सुनचाँदीका करिब दुईदर्जन आभूषण कोसेलीमा छ । जनकपुर सुनचाँदी व्यवसायी संघको पहलमा गरगहना जुटाइएको हो । अभूषणमा तिलहरी, पोते, अंगुठी, पाउजु, मंगलसुत्र, चाँदीको थाल, गिलास, बटुको, मग, चम्चा, पुजा गर्ने भाँडाबर्तन कोसेलीमा समेटिएको छ ।

यस्तै, फलफूलमा स्याउ, सुनतला, केरा, नरिवल छ । मिथिला खानाको ब्यञ्जन पनि कोसेलीमा लगिएको छ । ठकुवा, खजुरी, पेरुकिया, पान र मखानसँगै अनेक प्रकारका कपडा र फर्निचरका सामग्री कोसेली पठाइएको हो ।

जनकपुरबाट हुलाकी राजमार्ग हुँदै बिहीबार राति वीरगन्जमा बिश्राम गरेर शुक्रबार आयोध्या पुगेका टोलीले शनिबार राम मन्दिर ट्रष्टलाई कोसेली हस्तान्तरण गरेको हो ।

प्रकाशित : पुस २१, २०८० १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x