कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

ठाकुरराम क्याम्पसमा तालाबन्दी

भूषण यादव

वीरगन्ज — कर्मचारीको तलब वृद्धिको माग राख्दै त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।

ठाकुरराम क्याम्पसमा तालाबन्दी

क्याम्पसको कर्मचारी प्रशासन शाखा, आईटी शाखा, सामान्य प्रशासन तथा स्टोर शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ क्याम्पस इकाई समितिका अध्यक्ष किशोरीप्रसाद चौधरीका अनुसार विगत १४ वर्षदेखि न्युन तलबमा काम गर्दै आएका १० जना कर्मचारीहरुको तलब वृद्धिको प्रक्रिया थालिए पनि कार्यान्वयन नभएकाले आइतबारदेखि क्याम्पसमा ताला लगाइएको हो ।

२०७९ चैतमै क्याम्पसका पूर्वप्रमुख, प्रशासन एवम् वार्ता टोलीबाट माइन्यूटिङसहित तलब वृद्धिको निर्णय भएको चौधरीले बताए । त्यसबेला तलब वृद्धिको चरणबद्ध आन्दोलन पछि लिखित सहमति भएको थियो । ‘९ महिना अगाडि नै तलब वृद्धिको निर्णय गरिए पनि हालसम्म कार्यान्वयन भएको छैन्,’ चौधरीले भने, ‘यसको साथै पुस्तकालयमा स्वयंसेवक पदमा नियुक्त हुनुभएकी श्रीमती गणेशमाया शाहीलाई कामकाज गराएको तर तलब दिइएको छैन ।’

चौधरीका अनुसार गत मंसिर १५ मा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ क्याम्पस इकाई समितिद्वारा बोलाइएको साधारणसभामा समेत कर्मचारीहरुको अतिआवश्यक र महत्वपूर्ण मागहरुमा ध्यानाकर्षण भएको थियो । क्याम्पस इकाई समितिले मंसिर १८ मा क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै ७ दिनभित्र ३ बुँदे माग सम्बोधन नभए आन्दोलनमा जाने जानकारी गराएको थियो ।

'क्याम्पस प्रशासनले पुस ३ सम्म माग सम्बोधन हुने आश्वासन दिएको थियो,' सभापति चौधरी भन्छन्, 'तर ३ गतेसम्म क्याम्पस प्रमुखबाट कुनै प्रतिक्रिया आएन । ‘पुस ४ देखि एक घन्टा, दुई घन्टा र तीन घन्टा काम ठप्प पार्ने र पुस ८ देखि तालाबन्दी गर्ने निर्णय गरेका थियौँ,’ चौधरीले भने, ‘क्याम्पसको ४ वटा शाखामा तालाबन्दी गरिएको छ ।’

क्याम्पसले ०६६ सालदेखि आन्तरिक करारमा नियुक्त गरेको १० जना कर्मचारी हालसम्म मासिक १५ हजार रुपैयाँ तलबमा कामकाज गर्दै आएका छन् । श्रम ऐनअनुसार तलब वृद्धि नभएसम्म तालाबन्दी जारी रहने सभापति चौधरीले बताए ।

प्रकाशित : पुस ८, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×