कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विवादले रौतहटको विजयपुर नगरपालिका नगरसभा अन्योलमा

शिव पुरी

(रौतहट) — जनप्रतिनिधिबीचको विवादले फतुवा विजयपुर नगरपालिकाको नगरसभा अन्योलमा परेको छ । आर्थिक वर्षको योजना तर्जुमाका लागि हरेक वर्ष असार १० भित्र स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था भए पनि फतुवा विजयपुरले ६ महिना बित्न लाग्दा पनि सभा गर्न सकेको छैन ।

सभा नभएपछि पालिकाको आर्थिक कारोबार ठप्प छ । यही कारण ६ महिनादेखि कर्मचारीले तलब पनि पाएका छैनन् ।

कांग्रेसको बहुमत रहेको पालिकामा उपप्रमुख अमबेय खातुनले कार्यवाहकको जिम्मेवारी पाएकी छन् । अघिल्लो वर्षको असार १३ मा तत्कालीन नगर प्रमुख गोपाल राय यादवविरुद्ध राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा छन् । उनीविरुद्ध असोज २६ मा विशेष अदालतले १५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैदको फैसला गरेको छ ।

कार्यपालिका सदस्यहरूले सहयोग नगरेकै कारण नगरसभा हुन नसकेको उपप्रमुख खातुनले आरोप लगाइन् । ‘मिलेर काम गर्न अनुरोध गर्दै आएकी छु,’ उनले भनिन्, ‘कहिले यो हाकिम भएन भन्छन् । कहिले त्यो हाकिमलाई जिम्मेवारी दिऊँ भनेर दबाब दिन्छन् । नगरसभा बस्न नसक्दा पालिकाको आर्थिक कारोबार डामाडोल छ ।’ उपप्रमुख खातुनले कांग्रेस जिल्ला सभापति जितेन्द्र यादवले हस्तक्षेप गरी नगरसभा हुन नदिएको आरोप लगाइन् । खातुनले लगाएको आरोपको सभापति यादवले खण्डन गरेका छन् । ‘नगरसभा हुने नहुने भन्ने मेरो विषय होइन । यसमा मलाई केही थाहा पनि छैन,’ उनले भने, ‘उपप्रमुखलाई थाहा होला नगरसभा किन हुन नसकेको भनेर । मलाई थाहा छैन । मेरो कुनै हस्तक्षेप पनि छैन । ममाथि आरोप लगाउनुको कुनै तुक छैन ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले कुनै पनि वडाको योजनाको सिलिङ नबनेको र नगरसभाका लागि कार्यपालिकाको बैठकसमेत नबसेको जनाए । ‘कार्यपालिकाको बैठक बस्न पत्राचार गरेको थिएँ । तर कुनै पनि सदस्यले पत्र बुझ्नै मानेनन्,’ उनले भने, ‘उपप्रमुख र वडाध्यक्षलगायत सदस्यहरूबीच तीव्र मतभेद देखियो । यस्तो अवस्थामा सभा गर्ने कुनै सुरसार छैन ।’

नगरसभाको मिति तयका लागि कार्यपालिका सदस्यहरूलाई बैठक बस्न दुई पटक पत्राचार गरिसके पनि उनीहरूले चासो नदेखाएको प्रधानले सुनाए । जनप्रतिनिधिहरूबीच के कुरामा विवाद हो भन्ने अहिलेसम्म बाहिर आएको छैन । नगरसभा हुन नसकेपछि पालिकाको खातासमेत खोलिएको छैन । दसैंमा तलब पाउने सम्भावना नदेखिएपछि गएको असोज १९ देखि शिक्षक र कर्मचारीले नगरपालिकाको मूल गेटमा लगाएको ताला २० दिनपछि खुलेको थियो । दसैं, तिहार, छठजस्ता पर्वमा कर्मचारीले तलब पाएनन् ।

नगरपालिकाका ११ वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक र कर्मचारी भेला भई छलफल गरेर छठ पर्वअघि तलब खुवाउने सर्तमा ताला खोलिएको शिक्षक रञ्जन खरेलले जनाए । ‘सहमति गरे पनि अहिलेसम्म नगरपालिकाको खाता खोलिएको छैन । नगरसभा हुने छाँटकाँट छैन,’ उनले भने, ‘यस्तो अवस्थामा तलबभत्ता पाउन आस गर्न बेकार छ ।’

७ नम्बर वडाका अध्यक्ष रामविश्वास यादवले नगरसभाका लागि किन पहल हुन नसकेको भन्ने आफूले समेत थाहा पाउन नसकेको बताए । नगरभित्रका शिक्षकलगायत ३ सय ५० को हाराहारीमा कर्मचारीले अहिलेसम्म तलब पाउन सकेका छैनन् ।


प्रकाशित : मंसिर २४, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×