कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

श्रीमतीलाई नक्कली आमा बनाएर ५ वर्षदेखि पेन्सन उठाउँदै

भूषण यादव

वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका-२, सिसयाडी निवासी विकास यादवले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर विगत ५ वर्षदेखि मृत्यु भइसकेका बुवाको सरकारी जागिर वापत आउने निवृत्तिभरण (पेन्सन) लिईरहेको पाइएको छ ।

श्रीमतीलाई नक्कली आमा बनाएर ५ वर्षदेखि पेन्सन उठाउँदै

मनकामना प्राथमिक विद्यालयको प्रधानाध्यापक रहेका विकासका बुवा विनोद यादवको अवकासपछि २०७४ मा मृत्यु भएको थियो । उनको श्रीमती मिनादेवी यादवको पनि मृत्यु भइसकेको छ । सरकारी स्कुलका शिक्षक रहेका बुवाले पाउने पेन्सनका लागि विकासले श्रीमती संगीतालाई गीता देवीको नामले बुबासँगको नाता (कान्छी श्रीमती) प्रमाणित गराई अर्को नागरिकता समेत निकालेका छन् ।

बुवाको मृत्युपछि विकासले आफ्नो श्रीमती संगिता देवीलाई कान्छी आमा बनाएर पेन्सन खाँदै आएको खुलेपछि स्थानीय प्रमोद यादवले सरोकारवाला निकायमा उजुरी गरेका छन् । मुद्दा दर्ता भएपछि थप अनुसन्धानका लागि प्रहरीले विकासलाई नियन्त्रणमा लिएको छ । आर्थिक मिलेमतोमा वडाध्यक्ष जीतेन्द्र पटेलले श्रीमतीलाई कान्छी आमा बनाउन सहयोग पुर्‍याएको भन्दै उनीमाथि पनि मुद्दा दर्ता भएको छ ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार मृत्यु भइसकेको बुवाको पेन्सन लिनका लागि आफ्नै श्रीमतीलाई नक्कली कान्छी आमा बनाएको सम्बन्धमा उजुरी आएको हो । यसमा वडाध्यक्षलाई समेत प्रतिवादी बनाइएको उनले जनाए । 'दुईजना पक्राउ परेका छन्,' डीएसपी थापाले भने, 'मुद्दा अनुसन्धान कै क्रममा रहेको छ ।'

२०७५ असार १२ मा वडाध्यक्ष जितेन्द्र पटेलले गीतादेवी यादव विनोदप्रसाद यादवको श्रीमती भएको सिफारिस गरेका छन् । निवेदिका मेरो एकासँगोलको कान्छी आमा हो । कुनै फरक पर्नेछैन् । फरक परी झुठा व्यहोरा ठहर भए प्रचलित ऐन कानुन बमोजिम सम्पूर्ण जवाफदेही मै हुनेछु भनि विकास यादवले सनाखत गरेका छन् । पहिलो पटक स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका पटेल पछिल्लो पटक कांग्रेसबाट पुनः विजयी भएका छन् ।

उजरीकर्ता प्रमोद यादव स्व.विनोद यादवको कान्छो भाई हुन् । उनका अनुसार गैरकानुनी रुपले पेन्सन खानको लागि विकाशले पत्नी संगिता देवीलाई नै नक्कली कान्छी आमा बनाएको हो । ‘वडाध्यक्षले आफ्नो काम कर्तव्य पदीय जिम्मेवारी नबुझी वडा सचिवले गर्ने काम आफै गरी विकाश यादव र निजकी पत्नी संगिता देवीको नाता प्रमागित गरेको हुन्,’ उनले भने, ‘गलत नाता प्रमाणित गरि फर्जी नागरिकताको लागि सिफारिस समेत गरेका छन् ।’

उनका अनुसार सुरुमा विकाशले नाता प्रमाणितका लागि वडा कार्यालयमा निवेदन दिँदा वडा सचिव रामअयोध्या प्रसाद साहले स्व. विनोदको एक मात्र पत्नी मिनादेवी यादव रहेकी र कुनै कान्छी पत्नी नभएको भन्दै कार्यालयबाट झुठो नाता प्रमाणित गरेका थिएनन् । त्यसपछि विकासले २०७४ माघ २१ मा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जमा वडा कार्यालयविरुद्ध नाता प्रमाणित गराउन परमादेश आदेशको लागि रिट निवेदन दिएका थिए ।

उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को वडा समितिलाई नाता प्रमाणित गर्ने कार्य तोकिएको अवस्थामा निवेदकका नाता प्रमाणितको लागि आवश्यक कागजात लिई वडा कार्यालयमा आए कानुन बमोजिम प्रक्रिया पुर्‍याई नाता प्रमाणित गर्ने परमादेश गरेको थियो । अदालतले आवश्यक कागजात लिई कानुन बमोजिम प्रक्रिया पुर्‍याई नाता प्रमाणित गर्ने आदेश गरेको भएपनि वडाध्यक्ष पटेलले २०७५ असार ४ मा आफ्नो काम कर्तव्य र पदीय जिम्मेवारी नबुझी वडा सचिवले गर्ने काम आफैं गरी स्व. विनोद यादवको कान्छी श्रीमती भएको प्रमाणित गरेको प्रमोद यादवले बताए ।

२०७४ फागुन १५ वडा कार्यालयमा वडाध्यक्ष, वडा सदस्य फुलेना साह, अक्षय यादव, रम्भा यादव, उमरावती देवी र वडा सचिव रामअयोध्या साह उपस्थित भएको बैठकले स्व.विनोद यादवको एक मात्र श्रीमती मिनादेवी रहेकी र कुनै कान्छी श्रीमती नभएको हुँदा झुठो नाता प्रमाणित गराई गैरकानुनी रुपले पेन्सन खाने प्रयोजन भएकोले स्व.विनोद यादवको छोरा विकाश यादवले पत्नी संगिता देवीलाई नै गिता यादव बनाएको झुठो व्यवहोरा प्रमाणित नगर्ने निर्णय गरेको थियो ।


प्रकाशित : मंसिर २४, २०८० ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×