कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोज्दा डोजर, टिपर नियन्त्रणमा

अवधेशकुमार झा

राजविराज — लहानस्थित झवाई खोलाबाट अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोज्दा डिभिजन वन कार्यालय सिरहाले एउटा डोजर र दुईटा टिपर नियन्त्रणमा लिएको छ ।

अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोज्दा डोजर, टिपर नियन्त्रणमा

वातावरणीय प्रभाव मूल्यांकन नभएको नदीबाट नदीजन्य सामग्री निकाल्न खोजेको आरोपमा नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका डोजर र टिपर महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड निर्माण गरिरहेको चाइना रेल्वेले कम्पनीको प्रयोगमा थिए ।

‘मंगलबार पनि अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न चाइना रेलबेको सवारी साधनहरु आएको थियो तर हामीले रोकेपछि फर्कियो’ डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजितकुमार झाले भने, ‘बुधबार फेरि डोजर नै खोलामा लिएर नदीजन्य सामग्री निकाल्न खोजेपछि डोजर र टिपर नियन्त्रणमा लिएका हौं ।’

उनका अनुसार नियन्त्रणमा लिएपछि ड्राइभरहरु साँचो लिएर भागेका छन् । ‘साँचोबिना उक्त साधनहरु खोलाबाट वन कार्यालय ल्याउन सकिएको छैन’ उनले भने ।

लहान-१५ स्थित खुटीखोलामा मिल्ने झवाई खोलाबाट आफूखुसी चिनियाँ कम्पनीले नदीजन्य सामग्री निकाल्न खोजेको डिभिजन वन कार्यालय सिरहाको आरोप छ । ‘खुटी खोलाबाट नदीजन्य सामग्री निकाल्न लहान नगरपालिकाले ठेक्का लगाएको छ तर डिभिजन वन कार्यालयबाट समन्वय गरी वातावरणीय प्रभाव मूल्यांकन भएको छैन,’ प्रमुख झाले भने, ‘नगरपालिका आफैंले मात्र वातावरणीय मूल्यांकन गरेर नदीजन्य सामग्री निकाल्न पाउँदैन ।’

ढुंगा, गिटी तथा बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७७ को दफा ४ र ६ अनुसार जिल्ला वन कार्यालयसँग समन्वय नगरिएको कारण सो कानुन पालना गराउन र अनधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोजेपछि डिभिजन वन कार्यालय सक्रिय भएको हो ।

कञ्चनपुर–कमला सडक आयोजनाका इन्जिनयर सरोज कोइरालाले ठेकेदार कम्पनीको डोजर र टिपर वन कार्यालयले नियन्त्रणमा लिएकोबारे डिभिजन वन प्रमुखबाट आफूले थाहा पाएको तर विस्तृत जानकारी लिने काम भइरहेको बताए । कञ्चनपुर–कमला सडक आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्बेका प्रतिनिधिसँग सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : मंसिर १३, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×