महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालय सञ्चालन

महोत्तरी — जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा रहेका थुनुवाहरुको लागि पुस्तकालय सञ्चालन गरेको छ । कानूनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच भएको कार्य सम्पादन सम्झौता अनुसार मंगलबारबाट हिरासतमा पुस्तकालय सञ्चालन भएको एसपी मल्लले जानकारी दिए ।
पुस्तकालयको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरे । थुनामा रहने मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउन पुस्तकालय महत्त्वपूर्ण कडी सावित हुने विश्वास भट्टराईले व्यक्त गरे ।
पुस्तकालयमा ३ सय ९७ पुस्तक राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली साहित्यका सबै विधाका कथा कविता, उपन्यास धार्मिक, सांस्कृतिक महत्त्वका ५ सय किताबहरु जिल्ला प्रहरी कार्यालयमा रहेको एसपी मल्लले बताए ।
