कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धनुषा, महोत्तरी र रौतहटमा लामो समयदेखि 'लुटपाटमा संलग्‍न' २ जना पक्राउ

सन्तोष सिंह

धनुषा — महोत्तरी प्रहरीको नियन्त्रणबाट भाग्न खोज्ने डाँकाहरूलाई गोली प्रहार गरी पुनः नियन्त्रणमा लिएको छ । धनुषा, महोत्तरी र रौतहटमा लुटपाट गरी फरार भएका डकैतलाई रौतहट गरुडा पानी टंकीबाट पक्राउ गरी ल्याउने क्रममा महोत्तरीको सोनमाबाट भाग्ना खोज्दा गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

धनुषा, महोत्तरी र रौतहटमा लामो समयदेखि 'लुटपाटमा संलग्‍न' २ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुरका ३५ वर्षीय शक्तिकुमार पासवान र ३७ वर्षीय रितेश पासवानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मल्लले बताए । उनीहरूको साथबाट १ थान कटुवा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद भएको छ । पक्राउ परेका शक्तिकुमार पासवानलाई २ राउन्ड र रितेश पासवानलाई १ राउन्ड गोली लागेको छ । दुवै जनालाई घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डाँकाहरू ११ वटा मुद्दामा फरार सूचीमा रहेका थिए । पछिल्लो समय उनीहरू धनुषामा १, महोतरीमा २ र रौतहटमा १ स्थानमा लुटपाट गरी फरार भएका थिए । दुवै जनाले केही दिनआघि जलेश्वर नगरपालिका-८ मा भुवनेश्वर चौधरीको घरमा हतियार देखाउँदै ६० लाखभन्दा बढीको गरगहना र नगद लुटपाट गरेका थिए ।

रौतहटबाट पक्राउ गरी ल्याउने क्रममा सर्लाहीमा गाडी बिग्रिएको थियो । सर्लाहीबाट महोतरीको सोनमासम्म सर्लाही प्रहरीको गाडीमा ल्याएर सोनमामा महोत्तरी प्रहरीले आफ्नै गाडीमा राख्न खोज्दा डकैती आरोपमा पक्राउ परेका दुवै जना हतियारसहित भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भाग्न थालेपछि महोत्तरीको सोनमा–५ मा डकैतहरूलाई पुनः पक्राउ गर्न प्रहरीले १० राउन्ड गोली प्रहार गर्नुपरेको प्रहरी उपरिक्षक मल्लले बताए । डकैत पक्राउ गर्ने क्रममा सहायक प्रहरी हबल्दार साजय जयसवाल र प्रहरी जवान श्याम गिरीसमेत घाइते भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : कार्तिक २९, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×