कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमालेको प्रथम मधेश प्रदेश अधिवेशन हुँदै

सन्तोष सिंह

(धनुषा) — नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशन आजबाट जनकपुरमा सुरु हुँदै छ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेपनि फरक फरक दुई समुहले अध्यक्ष दाबी गर्ने आन्तरिक तयारी गरेको छ । 

एमालेको प्रथम मधेश प्रदेश अधिवेशन हुँदै

प्रदेश अध्यक्षमा एमाले सचिव रघुविर महासेठ र नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले आफनो उम्मेदवार अगाडि बढाउने तयारी गरेको एमाले नेताहरु बताउँछन् । दुवै गुट खुलेर आएको छैन तर आन्तरिक तयारी गरेको छ, एमालेका एक नेताले भने, 'महासेठको तर्फबाट सर्लाही अध्यक्ष राजनरायण साह, यादवको तर्फबाट चन्देश्वर मण्डल र लक्ष्मि यादव अध्यक्षको तयारी गरेको छ ।' अन्तिम समयसम्म सर्वसहमतकै पहल हुने नेताहरु बताउँछन् ।

एमाले मधेश प्रदेशको अध्यक्षकालागि सर्लाहीका रेवती पन्तले पनि तयारी गरेका थिए । पन्तविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाले पनि पछि हटेका छन् । प्रदेश उपाध्यक्ष समेत रहेका पन्तको प्रदेशका जिल्लाहरुमा राम्रो पकड भएका कारण सर्वसहमत अध्यक्ष हुने सम्भावना बढेपछि एमाले नेतृत्वले नै षडयन्त्र गरी मुद्दा प्रक्रिया अगाडि बढाइएको चर्चा समेत छ । पन्त भने अधिवेशनको समयमा मुद्दा दर्ता हुनु संयोग मात्रै भएको बताउँछन् ।

महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन र बन्द सत्रको कार्यक्रम राखिएको छ । अधिवेशनबाट ५ जना पदाधिकारी सहित २३५ जना निर्वाचित हुने छ । प्रदेश कमिटिमा एक तिहाइ महिला अनिवार्य गरिएको कमिटीमा दलित, महिला, मुस्लिम, मजदुर, जनजाती र खुल्ला भुगोल कलष्टर राखिएको छ ।

मधेश प्रदेशको ८ जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र रहेकोले हरेका निर्वाचन क्षेत्रबाट ५ जना प्रतिनिधि गर्दा हरेक जिल्लाबाट २० जना तथा सदस्यता र संगठनको अधारमा ५ देखि १० जना थप गरी अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।


प्रकाशित : आश्विन २४, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×