कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वीरगन्जमा ५ दिन रात्रि बजार चलाउने तयारी

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाले ‘रात्रि बजार’ पुनः सञ्चालन गर्ने तयारी गरेको छ । दसैं  नजिकिँदै गरेको र मौसमसमेत सुधार भएकाले गएको दुई महिनादेखि रोकिएको ‘रात्रि बजार’ पुनः सञ्चालन गर्ने तयारी गरेको हो । महानगरले यस पटक ५ दिन रात्रि बजार लगाउने गरी तयारी गरेको छ । 

वीरगन्जमा ५ दिन रात्रि बजार चलाउने तयारी

घटस्थापनाबाट सुरु गर्ने गरी मेला लगाउने तयारी गरेको महानगरका प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयालले बताए । यस सम्बन्धमा आइतबार महानगरपालिकाको कार्यालयमा सरोकारवालाहरूको बैठकसमेत सम्पन्न भयो ।

घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने मेला कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरी लगाउने तयारी गरिएको उनले बताए। मेला अवधिमा महानगरको समन्वयमा भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहने छ । रात्रि बजारमा पर्यटक भित्र्याउन वीरगन्ज नाका रातको १२ बजेसम्म खुला राख्न लागिएको हो ।

नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको उनले बताए। महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले वैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो ।

यस पटकको ‘रात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरी सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको छ ।

दसैंलक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य वस्तुहरूसमेत राखिनेछ ।

महानगरले रात्रिबजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग समेत सहकार्य गरेको छ । घरेलु तथा साना उद्योग, ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले दसैंलक्षित रात्रि बजार लगाउन लागेको हो । आदर्शनगरस्थित पुरानो बसपार्कमा करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको छ ।

प्रकाशित : आश्विन १५, २०८० १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×