कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गठबन्धनमा समस्या छ, तर सरकार ढल्दैन : निधि

अजित तिवारी

जनकपुर — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले गठबन्धन सरकारमा समस्या रहे पनि सरकार ढल्ने सम्भावना नरहेको बताएका छन् । उनले धेरै दल मिलेर सरकार बनेकाले समस्या हुनु स्वाभाविक रहेको पनि बताए ।

गठबन्धनमा समस्या छ, तर सरकार ढल्दैन : निधि

‘गठबन्धको सरकार छ । चल्दै छ,’ नेपाल प्रेस युनियनले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका नेता निधिले भने, ‘गठबन्धनमा समस्या पनि छ । पूर्वसहमतिअनुसार नै गठबन्धनको सरकार अगाडि बढ्नुपर्छ ।’

उनका अनुसार सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल अडिग रहनुपर्छ ।

दाहाल समाजवादी मोर्चा बनाएर सक्रिय भएको र कांग्रेस–एमाले मिलेर सरकार बनाउने अड्कलबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा कांग्रेस नेता निधिले भने, ‘राजनीतिमा मोर्चाबन्दी गर्नु स्वाभाविक हो । दलीय गतिविधि गर्दैमा आत्तिनुपर्ने अवस्था होइन । कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा गलत हो । कुनै सम्भावना छैन ।’ उनले नेपालमा राजनीति स्थिरता पेचिलो देखिएको पनि संकेत गरे । ‘संसद् र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्छ,’ निधिले भने, ‘त्यो देखिँदैन । हाम्रो मान्यता संसद् पूर्ण अवधिसम्म चल्नुपर्छ भन्ने हो । यसलाई नै राजनीति स्थिरता भनिन्छ ।’

कांग्रेस नेता निधिले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुर भ्रमणमा आउन लागेको समेत जानकारी दिए । उनले यसअघि मौसम प्रतिकुलताले रोकिएको राष्ट्रपति पौडेलको जनकपुर भ्रमणको टुंगो लागेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूसित मेरो कुराकानी भएको छ । उहाँ असोज ८ गते जनकपुर आउनुहुनेछ,’ निधिले भने, ‘जनकपुरमा राष्ट्रपतिज्यूले जानकी मन्दिरको दर्शन र उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिनेछ ।’ नागरिकता विधयेक प्रमाणीकरण गरेलगत्तै राष्ट्रपति पौडेलको जनकपुरको भ्रमण तय गरिएको थियो । तर, त्यतिबेला जनकपुरमा अत्यधिक गर्मी भएकाले उनको भ्रमण रोकिएको थियो ।

प्रकाशित : भाद्र ३१, २०८० ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×