३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बर्दिवास नगरद्वारा सर्पदंश उपचार केन्द्रलाई भेन्टिलेटर सहयोग

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रलाई बर्दिवास नगरपालिकाले प्रोटेबल भेन्टिलेटर र 'अक्सिजन कन्सन्ट्रेटर' हस्तान्तरण गरेको छ । 

बर्दिवास नगरद्वारा सर्पदंश उपचार केन्द्रलाई भेन्टिलेटर सहयोग

गर्मी समयमा सर्पको प्रकोप हुने भएकाले उपचारमा सहजताका लागि भेन्टिलेटर हस्तान्तरण गरेको बर्दिवास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए । सर्पले टोकेपछि बिरामीको मनोबल कमजोर हुने र बर्दिवासमा भेन्टिलेटर संचालन नहुँदा बिरामीको ज्यान गइरहेका आवाज उठेपछि केन्द्रलाई भेन्टिलेटर दिने निर्णय गरेको नगरप्रमुख क्षेत्रीले बताए ।

सर्पले टोकेका बिरामीलाई लगाउने एन्टि स्नेक भेनम सही तापक्रममा राख्ने फ्रिजसमेत उपचार केन्द्रलाई बर्दिवास हेल्प फाउन्डेशन, रेडक्रस बर्दिवास शाखाले उपलब्ध गराएका छन् । भेनमको तापक्रम तलमाथि हुँदा बिरामी छिटो निको हुन नसक्ने भएकाले तापक्रम बराबरी राख्ने फ्रिज दुई संस्थाको अगुवाईमा बर्दिवासकै व्यवसायी तथा स्थानीयबाट सहयोग उठाई किनेको रेडक्रस बर्दिवास शाखाका सभापति सुदीप कार्कीले बताए ।

नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्दा नगरपालिकामा थन्किएको भेन्टिलेटर नगरपालिकाले बर्दिवासका विभिन्न संघसंस्थालाई भेन्टिलेटर चलाउने व्यवस्था मिलाएर जनतालाई सेवा दिन आह्वान गरेको थियो । वर्षौंदेखि भेन्टिलेटर, 'अक्सिजन कन्सन्ट्रेटर' र फ्रिज आवश्यक परे पनि केन्द्रको अभाव नगरपालिका, रेडक्रस र हेल्प फाउन्डेशनले पूरा गरिदिएको सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए ।

भेन्टिलेटर चलाउन विशेषज्ञसहित प्राविधिक र स्वास्थ्यकर्मीको टोली उपचार केन्द्रलाई बर्दिवास जनसेवा अस्पतालले दिने घोषणा गरेको छ । सर्पले टोकेका बिरामी भेन्टिलेटरमा राख्न परेमा जनसेवाले सेवा दिँदै आएको र अब प्रोटेबल भेन्टिलेटर संचालन गर्नुपर्दा आवश्यक सहयोग जनसेवाले गर्ने अस्पतालका संचालक सुमन भुजेलले बताए । २ डाक्टर, २ नर्स र आवश्यक अन्य ४ जना जनशक्ति प्रोटेबल भेन्टिलेटर संचालन गर्न जुनसुकै समय उपस्थित गराउने संचालक भुजेलले बताए ।

बर्दिवासमा दिनदिनै सर्पदंशका बिरामी बढिरहेका उपचार केन्द्रको तथ्यांकमा देखिएको छ । पछिल्ला ३ वर्षमा बिरामीको चाप बढ्दै गएको छ । गत आर्थिक वर्षमा ४ हजार १ सय ९१ जना सर्पदंशका बिरामीले केन्द्रबाट उपचार गराएका थिए । यही वैशाखमा ४८ जन सर्पदंशका बिरामीले केन्द्रमा उपचार गराएका छन् भने विषालु सर्पको टोकाईबाट जोखिममा रहेका ८ जनाको सफल उपचार सर्पदंश केन्द्रले गरेको केन्द्रका ईन्चार्ज अनुप कटुवालले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?