कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राजविराज नगरपालिका : कमिसनमा कुरा मिले मात्र सम्झौताका लागि पुर्जी

मनपरि भएको कार्यपालिका सदस्यहरूको आरोप
अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक सूचनाबिना तजबिजकै भरमा सचेतनामूलक र आर्यआर्जनसम्बन्धी तालिम वितरण गरिरहेको पाइएको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविणले आफूखुसी तालिम कार्यक्रम वितरण गरिरहेकी हुन् । 

राजविराज नगरपालिका : कमिसनमा कुरा मिले मात्र सम्झौताका लागि पुर्जी

आर्थिक वर्ष सक्न डेढ महिनामात्र बाँकी छँदा तालिम कार्यक्रमका नाममा राजविराज नगरपालिकामा कमिसन असुल्ने क्रम चुलिएको छ । बिनाप्रतिस्पर्धा तजबिजका आधारमा राजविराज नगरपालिकाले बाँडिरहेको तालिम कार्यक्रमको बजेटमा न्यूनतम ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म कसिमन लिने गरेको नगरपालिका स्रोतले बतायो ।

राजविराज नगरपालिकाले चालु आर्थिक वर्षका लागि सीपमूलक र सचेतनामूलक तालिमका लागि ३७ लाख रुपैयाँ बजेट नगरसभाबाट पास गरी छुट्याएको थियो । ३७ लाख रुपैयाँमा वडा तहले छुट्याएको योजना भने समावेश छैन ।

आर्थिक वर्ष सकिन लाग्दा अहिले नगरपालिकामा ती तालिमहरू सञ्चालन गर्न सम्झौता गर्नेहरूको भीड लाग्न थालेको छ । नगरपालिकाले तालिम सञ्चालनका लागि सार्वजनिक सूचना निकालेर प्रतिस्पर्धा गराई छनोट भएका गैरसरकारी संस्थालाई मात्र तालिम सञ्चालनको कार्यादेश दिनुपर्नेमा सूचना गरेको छैन ।

पछिल्लो समय राजविराज नगरपालिकामा कमिसनमा कुरा मिलेपछि सामाजिक विकास शाखामा सम्झौताका लागि कागजमा लेखिएको पुर्जी आउने गरेको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविणको हस्ताक्षरसहित आउने पुर्जीवाहकको संस्थासित मात्र तालिम सम्झौता हुने गरेको छ ।


कमिसनबापत आउने रकम जनप्रतिनिधि र उच्च तहका कर्मचारीको भागबन्डामा वितरण हुने गरेको नगरपालिका स्रोतले बतायो । कान्तिपुरलाई प्राप्त कागजातका आधारमा नगरसभाबाट पारित तालिमसम्बन्धी योजनाको सूचीको कैफियतमै पनि तालिम कुन संस्था वा कुन व्यक्तीलाई दिने भन्ने उल्लेख छ । यसका अतिरिक्त कार्यवाहक नगरप्रमुख ईसरत परविणले सम्झौताका लागि आफ्नो हस्तलिखित र हस्ताक्षरित पुर्जी आएपछि मात्र सम्झौता गर्नू भनेर सामाजिक विकास शाखा प्रमुख अनिता चौधरीलाई निर्देशन दिएकी छन् ।

कार्यवाहक नगरप्रमुख परविणकै पुर्जीका आधारमा अहिले तालिम सम्झौता भइरहेको छ । सामाजिक विकास शाखा प्रमुख अनिता चौधरीले अधिकांश तालिमको सम्झौता भइसकेको र एकाध सम्झौता हुन बाँकी रहेको बताइन् । उनले आफू निर्देशन मान्ने तहको कर्मचारी भएका कारण धेरै कुरा बताउन नसक्ने बताइन् ।

नगरपालिकाकी कार्यवाहक नगरप्रमुख ईसरत परविणले भने कमिसनको कुरा अस्वीकार गरिन् । तर, उनले विगतदेखि नै कार्यक्रम सञ्चालनमा केही विषय चलिइरहेकाले त्यसको निरन्तरता हुन सक्ने बताए पनि त्यो विषय भने उल्लेख गरिनन् ।

प्रकाशित : जेष्ठ १६, २०८० १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?