बोदेवरसाइन नगरपालिकाको पर्खाल निर्माणमै १ करोड ८ लाख खर्च

दुई पटक निर्माण गरिएको पर्खाल भत्किएपछि नगरपालिकाले तेश्रो पटकसमेत सोही वाल निर्माण गरिरहको हो । पर्खाल निर्माणकै लागि यस नगरपालिकाले १ करोड ८ लाख खर्च गरिरहेको छ । कार्यालयको फर्निचरका लागि मात्रै ८४ लाख रुपैयाँ खर्च ।
अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेवरसाइन नगरपालिकाले पालिका कार्यालयको (बाउन्ड्री वाल) पर्खाल निर्माणमै १ करोड ८ लाख रुपैयाँ खर्च गरिरहेको छ । दुई पटक निर्माण गरिएको पर्खाल भत्किएपछि नगरपालिकाले तेश्रो पटकसमेत सोही वाल निर्माण गरिरहको हो ।

बोदेवरसाइन नगरपालिकाले निर्मण गरेको नयाँ प्रसासनिक भवनको चारैतर्फ २ सय २० मिटर बाउन्ड्री वालको लम्बाइ रहेको छ । त्यसमध्ये पश्चिमतर्फको ६८ मिटर बाउन्ड्री वाल निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ मा १२ लाख ६३ हजार ८ सय ९५ रुपैयाँ ११ पैसामा पवन कन्ट्रक्सन हनुमाननगर कंकालिनी नगरपालिका २ सँग सम्झौता गरेको थियो ।

सो आर्थिक वर्षमा पश्चिमतर्फको पर्खाल निर्माण भएको थियो । यस्तै पूर्व, उत्तर र दक्षिणतर्फको पर्खाल निर्माणका लागि दोश्रो पटक आर्थिक वर्ष ०७५/७६ मा सोही कन्ट्रक्सनसँग १९ लाख ४१ हजार ४ सय ९६ रुपैयाँ ४६ पैसामा सम्झौता गरी कार्य समपन्न भएको थियो ।

लाखौं रकम लगाएर निर्माण गरिएको उक्त बाउन्ड्री वाल ०७८ साल भदौमा वर्षा हुँदा पश्चिमतर्फ भत्किएपछि नगरपालिकाले कमजोर संरचना रहेको भन्दै चारतिरको पर्खाल आफैंले भत्काएको थियो । भत्काएपछि फेरि आर्थिक वर्ष ०७९/८० मा बाउन्ड्री वाल, गेट, पार्किङ सेडसमेत गरी टेण्डर गर्दा ७६ लाख १६ हजार ४ सय ६० रुपैयाँ ३० पैसामा आरसी निस्था कन्ट्रक्सन एण्ड सप्लायर्स लालबन्दी ७ सर्लाहीसँग २०७९ पुस २२ गते सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसारको काम हाल निर्माणाधीन छ । तीनै पटकमा गरी बाउन्ड्री वाल, गेट र पार्किङ सेडमा गरी नगरपालिकाले १ करोड ८ लाख २१ हजार ८ सय ५१ रुपैयाँ ८७ पैसा खर्च गरिरहेको हो ।

पहिलो र दोश्रो पटक निर्माण गर्दा गुणस्तरीय काम हुन नसकेकोले पर्खाल भत्किएपछि पुन: तेश्रो पटक निर्माण गर्न लागिएको हो । बोदेवरसाइन नगरपालिकाका इन्जिनयर दिनेश ठाकुरका अनुसार पहिलो र दोश्रो पटक निर्माण गर्दा प्राविधिक रुपले समग्र वस्तुस्थितिको मूल्यांकन गर्न नसकिएकाले पर्खाल वर्षामा भत्किएको हो । पहिलो र दोश्रो पटक निर्माण भएको गुणस्तरहिन बाउन्ड्री वाल निर्माणमा नगरपालिकाका तर्फबाट अरबिन्द यादव इन्जिनियर थिए ।

पालिकाका आम नागरिकहरू आधारभूत सुविधाबाटै वञ्चित रहेका बेला कार्यालयको बाउन्ड्री वाल निर्माण गर्ने, भत्काउने र फेरि निर्माण गर्ने कार्यमा बजेट खर्चिनुले विकासीय रकम दुरुपयोग भइरहेको स्थानीय अगुवाहरू बताउँछन् । बोदेवरसाइन नगरपालिकाले नै चालु आर्थिक वर्षमा कार्यालयको फर्निचरका लागि ८४ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १९:४५
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा रोजगार मेला, १ सय कम्पनी सहभागी हुने  

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंगलबारदेखि काठमाडौंमा रोजगार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको मेला दुई दिनसम्म चल्नेछ । महासंघको सचिवालय, टेकुमा हुने रोजगार मेलामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोग रहेको छ । 

मेलामा काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने उद्देश्यले मेला आयोजना गरिएको महासंघले जनाएको छ ।

‘नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघका अनुसार रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ । त्यस्तै कामको खोजीमा रहेका ५ हजार भन्दा बढी युवाहरुलाई मेला अवलोकन गराउने लक्ष्य राखिएको छ । कार्यक्रममा रोजगारी, सीप एवम् जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श 'सेसन' समेत आयोजना हुने छन् । कामको खोजीमा रहेकाहरूले महासंघको वेबसाइटमा गई कार्यक्रममा सहभागिताका लागि दर्ता गर्नुपर्नेछ ।


प्रकाशित : जेष्ठ १२, २०८० १९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×