लोसपा मधेस सरकारमा सहभागी, कुर्मी बने वनमन्त्री

रासस

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेस सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिए । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ गराए ।

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैँसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अब वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुंगो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नाम पछि टुंगो लाग्ने बताइएको छ ।

सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेस प्रदेशमा अब पाँचौँपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० २२:३४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुख घिमिरेको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् । 

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई बिहीबार सम्बोधन गर्दै सभामुख घिमिरेले उक्त आह्वान गरेका हुन् । विश्वका प्रतिभाहरुलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उनले फाउन्डेशनको प्रशंसा पनि गरे ।

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् । नेपालीमूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो ।

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रसारण भइरहेको छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८:५० बजेदेखि र ‘मेरो डान्स युनिभर्स’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण भइरहेको छ ।

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यतर्फ पनि प्रथम हुनेलाई २० लाख रुपैयाँ पुरस्कार रहेको छ ।

संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच दुई महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् ।

प्रकाशित : जेष्ठ ११, २०८० २२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×