पर्सामा मिटरब्याजीविरुद्ध १ हजार ७५ निवेदन दर्ता

शंकर आचार्य

पर्सा — जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबारसम्म मिटरब्याजीविरुद्ध १ हजार ७५ निवेदन दर्ता भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता भीमकान्त पौडेलका अनुसार बिहीबार दिउँसो साढे दुई बजेसम्मको अवधिमा १ हजार ७५ मिटरब्याजपीडितले मिटरब्याजीविरुद्ध निवेदन दर्ता गरेका हुन् ।

‘मिटरब्याजीविरुद्धको निवेदन अनलाइन दर्ता भइरहेको छ,’ उनले भने, ‘वैशाख १७ देखि यसरी निवेदन दर्ता गर्न थालिएकोमा म्याद थप गरेर जेठ १४ सम्म निर्धारण गरिएको छ ।’ जिल्लाभरिका १४ वटै स्थानीय तहबाट मिटरब्याजीविरुद्ध निवेदन दर्ता भएको उनले बताए ।

विशेषगरी लेनदेन र जग्गा जमिनसम्बन्धी मिटरब्याजपीडितहरूको निवेदन दर्ता भएको छ । सबै निवेदन संकलन गरी मिटरब्याजको समस्या समाधान गर्न गठित आयोगमा पठाइने उनले बताए । हाल आयोगको केन्द्रीय कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको छ । वित्तीय संस्था तथा सहकारीहरूविरुद्धको निवेदन हाललाई नलिइएको उनले बताए ।

गत वर्ष पनि यसरी जिल्लामा मिटरब्याजपीडितको उजुरी संकलन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा ७ दर्जनभन्दा बढी उजुरी दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयले ती उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन पठाएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०८० १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा एक हप्तायता मात्रै दुई जनाको हत्या

अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लामा एक हप्तायता मात्रै दुईवटा हत्याका घटना भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर र रुपनी गाउँपालिका १ रायपुरमा गरी दुईवटा हत्या भएको हो ।

सोमबार बिहान हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक शव फेला परेको छ ।

बिहान स्थानीयहरू निस्किँदा खेतमा टाउको काटिएको अवस्थामा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरूसमेत देखिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले बताए । हत्या गरिएका व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन ।

यसअघि गत वैशाख ३१ गते रुपनी गाउँपालिका १ रायपुरस्थित राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका २ खैरबनाका मो. लुकमानका छोरा २१ वर्षीय मो. तफेजुलको शव फेला परेको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिए पनि उक्त घटनाको कारणबारे अझै पनि प्रहरी अनभिज्ञ नै छ । रुपनीको घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको एसपी कार्कीले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८० १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×