सेटिङमा मल लिलाम गरेको भन्दै प्रशासनले थाल्यो छानबिन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
रौतहट — बिचौलियाको सेटिङमा भन्सार कर्मचारीको मिलोमतोमा युरियालगायतको मलखाद लिलाम गरेको उजुरीपछि जिल्ला प्रशासनले गौर भन्सार कार्यालयबाट कागजात मगाएर छानबिन थालेको छ । भन्सारकै केही कर्मचारीहरू मिलेर २० लाख मूल्यको मल व्यापारीलाई १० लाख रुपैयाँमै जिम्मा लगाएको खुलेपछि प्रशासनले छानबिनमा चासो देखाएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सेटिङमा मल लिलाम गरेको भन्दै प्रशासनले थाल्यो छानबिन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/mal-2052023022522-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
भारतबाट अवैधरुपमा रौतहटको विभिन्न नाकाबाट भित्र्याएको ठूलो परिणामको मल यही वैशाख २९ गते दिउँसो राजपुर नगरपालिका ५ स्थित गाउँबाट प्रहरीले बरामद गरेर कारबाहीका लागि भन्सार बुझाएको थियो । जिल्ला प्रहरी र सशस्त्र प्रहरी बल गौरको संयुक्त टोलीले राजपुरको विभिन्न स्थानमा छापा मारेर ८०३ बोरा युरिया, ४७९ बोरा डीएपी र २४ बोरा पोटास बरामद गरेको हो । उक्त मल भन्सार कार्यालय ल्याउन लाग्दा स्थानीयले बाटोमा टायर बालेर अवरोध गर्न थालेपछि प्रहरीले ४ राउन्ड अश्रुग्यास हानेको थियो ।
सुरक्षाकर्मीले भन्सारलाई बुझाएको मलको प्रतिवेदनमा २० लाख २ हजार ८ सय साठी रुपैयाँ मूल्य कायम गरेको थियो । भन्सारले जेठ १ गते सूचना प्रकाशित गरी त्यसै दिन गौरकै एक बिचौलियाको सेटिङमा कार्यालयका नायब सुब्बा रेवती रोक्काको मिलोमतोमा १० लाखमा तस्करकै जिम्मा लगाएको खुलेपछि प्रशासनले सम्पूर्ण कागज मगाएर छानबिन थालेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भन्सारले लिलाम गरेको मलखादको सबै कागजपत्र मगाएर छानबिन थालेको बताए । ‘सेटिङमा लिलाम गरेर कम मूल्यमा मलखाद बिक्री गरेको भन्ने उजुरी पछि छानबिन थालेका हौं,’ ‘उनले भने, ‘छानबिनमा दोषी देखिए कारबाही प्रक्रिया अघि बढाउछौं । हामी लिलाम प्रकरणमा कसको बदमासी छ भन्ने हेर्दै छौं ।’ भन्सारले लिलाम गरेको भनिएको कागजपत्र झिकाएपछि बिचौलिया फरार छन् । भन्सार अधिकृत बासुदेव नेपालले आफू बिदामा बसेको बेला मलखाद लिलाम प्रक्रियामा बिचौलियामार्फत आफ्नो कर्मचारीले रकम बुझेको भन्ने सुन्नमा आएको बताए । ‘पैसाको चलखेल भएको भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘मैले एक रुपैयाँ कसैसित लिएको छैन । मेरो नाम बदनाम गरेर मेरो कर्मचारीले लिएका छन् भने म पत्ता लगाउँछु ।’
उक्त मल बरामद गर्ने क्रममा प्रहरीले मल राखिएको घरधनी रुदल साह र कन्हैया साहलाई नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको थियो । दुवै १५ लाख रुपैयाँ धरौटी राखेर तारेखमा छाडेको भन्सार प्रमुख नेपालले बताए । मल लिलाम प्रक्रियाबाट फेरी तस्करलाई नै जिम्मा लगाएको भन्दै विरोध भइरहेको छ । नायब सुब्बा रोक्काले नियम पुर्याएरै लिलाम गरेको दाबी गरेका छन् । ‘यसमा कुनै चलखेल भएको छैन,’ उनले भने, ‘हामीले नियमसंगत लिलाम गरेका हौं ।’ पानीले मलखाद सड्ने र राजस्व नोक्सानी हुने हुँदा वीरगन्जबाट परीक्षण गराएर लिलाम प्रक्रियामार्फत बिक्री गरेको रोक्काको दाबी छ । राजपुरबाट बरामद भएको मल त्यहीँकै व्यापारीको जय माँ दुर्गा इन्टरप्राइजेज फर्मले लिलाम सकारेको थियो । नेपाल–भारत खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यमा तस्करले मल ल्याएर भण्डारण गर्छन् । पछि सेटिङमा उक्त मल राजधानीसम्म पुग्छ । पारीबाट किसानका लागि भन्दै मोटरसाइकल, साइकल र काँधमा राखेर तस्करले खेतालाको प्रयोग गर्छन् ।
उनीहरूले दिनभर यही काम गर्छन् । सीमाक्षेत्रको विभिन्न गाउँमा तस्करले गोदाममा राखेर पछि ट्रकमा पठाउँछ । तस्करकै कारण भन्सार विभागले तोकेको लक्ष्यअनुसार गौर भन्सारले राजस्व संकलन गर्न सकेको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)