परवानीपुरमा सरकारी स्तरबाटै स्थानीय जातको कुखुरा प्रवर्द्धन 

शंकर आचार्य

पर्सा — लोकल (स्थानीय) जातको कुखुराको मासु र अन्डाको बढ्दो मागलाई दृष्टिगत गरी कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले स्थानीय जातको कुखुराको चल्ला र अन्डाको बिक्रीवितरणको गृहकार्य थालेको छ ।

निर्देशनालयमा अहिले घाँटी खुइले, प्वाँख उल्टे, शाकिनीजस्ता स्थानीय जातका कुखुरा पालन गरेर यिनको संरक्षण र प्रवर्द्धनसमेत गर्न थालिएको हो ।

निर्देशनालयका निर्देशक विशेश्वरप्रसाद यादवका अनुसार केही वर्षयता होटल तथा रेस्टुरेन्टहरूमा स्थानीय जातको कुखुराको अत्यधिक माग रहेको तथा सर्वसाधारणले पनि स्थानीय जातको कुखुराको मासु बढी रुचाउन थालेकाले निर्देशनालयले पनि स्थानीय जातको कुखुराको चल्ला र अन्डा बिक्री गर्ने योजना बनाएको हो । ‘केही वर्षयता केन्द्रमा पनि स्थानीय जातको कुखुराको चल्ला र अन्डा खोज्न आउनेहरूको संख्या बढन थाल्यो,’ उनले भने, ‘त्यस कारण पनि सर्वसाधारण तथा व्यावसायिक कुखुरा पालकले पनि स्थानीय जातको कुखुरा पालेर लाभ उठाउन भन्ने उद्देश्यले समयानुकूल निर्णय गरी हामीले स्थानीय जातको कुखुराको प्रवर्द्धन गर्न थालेका हौं ।’

स्थानीय जातको कुखुराको मासु र अन्डा तुलनात्मक रुपमा स्वादिलो हुने र विकासे कुखुराको मासु र अन्डाभन्दा झन्डै दोब्बरी महँगो पनि हुने भएकाले यो जातको कुखुराको पालनबाट किसान वा सर्वसाधारण जो कोहीले पनि दोब्बरी लाभ उठाउन सक्ने यादव दाबी गर्छन् । विकासे कुखुराको तुलनामा स्थानीय जातको कुखुरा पाल्न लगानी पनि कम लाग्ने र सहज पनि हुने उनी बताउँछन् ।

थोरै लगानीमा बढी प्रतिफल आउने भएकाले स्थानीय जातको कुखुरा पालनमा पछिल्लो केही वर्षयता आकर्षण बढेको उनको बुझाइ छ । निर्देशनालयमा हुर्किइरहेका स्थानीय जातका कुखुराले आउँदो असार/साउन महिनामा अन्डा दिने र ती अन्डाबाट कात्तिकदेखि चल्ला उत्पादन गरी बिक्रीवितरणसमेत गरिने यादव बताउँछन् । निर्देशनालयमा आफ्नै ह्याचरीसमेत रहेको छ । यो नेपालकै सबैभन्दा पुरानो ह्याचरीसमेत हो । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले ह्याचरीको उद्घाटन गरेका थिए ।

यसअघि निर्देशनालयबाट टर्की, बट्टाई पन्छीका साथै गिरिराज, न्यु हेम्पसायर, ब्ल्याक स्ट्रलक, कर्निस आदि जातका कुखुराको चल्ला तथा अन्डासमेत बिक्रीवितरण हुँदै आएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

जातीय छुवाछूत गर्नेलाई कारबाहीको दायरामा ल्याउन सांसद नेपालीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले कास्कीमा भएको जातीय छुवाछूतको घटनामा संलग्न दुई जनालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद नेपालीले दलितले आत्मसम्मानपूर्वक बाँच्न पाउने अवस्था अझै पनि नरहेको भन्दै गुनासो गरे ।

कास्कीबाटै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद नेपालीले कास्कीमा गत फागुन २५ गते दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको र उक्त घटनामा जनप्रतिनिधिकै संलग्नता रहेकोप्रति निन्दा व्यक्त गरे । उनले सो घटनामा संलग्न वडाध्यक्ष रामजी लामिछाने र स्थानीय सरिता लामिछानेमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत माग गरे ।

उनले फरार रहेका दुवै जनालाई पक्राउ गरेर कानुनी कठघरामा ल्याउन माग गरे । '२१ औँ शताब्दीमा पनि यस्तो छुवाछूतजन्य कार्य हुनु निन्दनीय कार्य हो । देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि दलित समुदायलाई लोकतान्त्रिक गणतन्त्रले छोएको छैन,' उनले भने, 'सभामुख महोदय, दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको भन्ने शीर्षकमा समाचार आएको छ । कास्कीजस्तो शिक्षित सहरमा गत फागुन २५ गतेको घटना हो यो । जुन अति निन्दनीय छ । फरार रहेका रामजी लामिछाने र स्थानीय सरिता लामिछानेलाई म कडाभन्दा कडा सजाय दिनहुन यो सम्मानित सदनबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

प्रकाशित : चैत्र १९, २०७९ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×