बसपार्क अलपत्र, सडकमै पार्किङ

३ पटकसम्म म्याद थप र ४ पटक शिलान्यास गर्दा पनि बसपार्क निर्माणमा ढिलाइ
अवधेशकुमार झा

राजविराज — ४ पटक त शिलान्यास नै गरिएको र तीन पटकसम्म म्याद थप्दा पनि राजविराज बसपार्कको निर्माण सम्पन्न हुन सकेको छैन । आयआर्जनसम्बन्धी पुर्वाधार योजना कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयको बजेटमा बसपार्क निर्माण सुरु भएको र तीन पटक म्याद थपिए पनि बसपार्कको निर्माण सकिएको छैन ।

बसपार्कको अभावमा राजविराजमा सार्वजनिक सवारीसाधन सडकमै पार्किङ हुँदा ट्राफिक झमेला बढेको छ । राजविराज नगरपालिका–२ राजदेवी मन्दिरनजिक रहेको जग्गामा बसपार्क निर्माण भइरहेको हो । हदबन्दीमा परेको जमिनदारको जग्गा सरकारी नाममा आएपछि २०४४ सालमा उक्त जग्गामा वीरेन्द्र हरित उद्यान निर्माणका लागि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए ।

हरित उद्यान निर्माण हुन नसकेपछि प्रजातन्त्र पुनःस्थापनापछि २०५२ सालमा तत्कालीन नगर प्रमुख शैलेश चौधरीको सक्रियतामा उक्त स्थानमा बसपार्क निर्माण गर्ने निर्णय गरियो । निर्णय त्यतिबेला गरिएपनि बसपार्कको निर्माण भने थालिएन । १९९७ सालमा राजविराज नगर बसाउने क्रममा पनि बसपार्क बनाइएन । बसपार्क नहुँदा राजविराजमा विभिन्न स्थानमा सडक नै अवरोध गरी बस सञ्चालन हुँदै आएका छन् । रूपनी मोड, गजेन्द्र चोक, सखडा रोडलगायतका स्थानमा सडकबाटै बस चल्छ र रोकिन्छ । बसपार्कको अभावमा सडकमै बस पार्किङ गर्दा नगरको सौन्दर्यमा नकारात्मक प्रभाव पर्नुका साथै सडक जाम बढेको छ ।

बसपार्क निर्माण गर्ने उद्देश्यले चौथो पटक २०७४ साल पुस १९ मा सम्झौता भई तत्कालीन नगर प्रमुख शम्भुप्रसाद यादव र सहरी विकास मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्माले २०७४ माघ २६ मा शिलन्यास गरेपछि मन्त्रालयकै बजेटमा बसपार्क निर्माण थालिएको थियो । २०७७ साल पुस १८ भित्र बसपार्क निर्माण सक्ने सम्झौता गरेर सिनर्जी बिल्डर्स, काठमाडौंले निर्माण काम अगाडि बढाएको थियो । तर, तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन ।

करिब १६ करोड ३९ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने राजविराज बसपार्कमा सेड निर्माण, घण्टाघर, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन र चारैतिर पर्खाल निर्माणको लगत स्टिमेट छ । तोकिएको समयमा बसपार्क निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजले ३ पटकसम्म म्याद थप गरिसकेको छ । डिभिजन प्रमुख सचिन्द्रकुमार देवकाअनुसार निर्माण कम्पनीलाई जरिवानासहित तेस्रो पटक थपिएको म्याद २०८० साल असार २५ मा सकिँदै छ । निर्माण कम्पनीका प्रतिनिधि तोकिएको समयमा काम सम्पन्न हुनेमा ढुक्क छैनन् । ‘अब तोकिएको समयमा काम सम्पन्न नभए निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ डिभिजन प्रमुख देवले भने ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र प्रहरी प्रमुख नरेन्द्र कार्कीको सक्रियतामा राजविराजमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई अगाडि बढाउँदै बसपार्कबाटै बस सञ्चालन गर्ने तयारी गरिएको छ । तर, बसपार्क निर्माण सम्पन्न नहुँदा प्रशासनको प्रयास सफल भइरहेको छैन । जिल्ला प्रशासन कार्यालयमै निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर प्रमुख जिल्ला अधिकारी थापाले वैशाख १ गतेबाट बसपार्क सञ्चालनमा आउने गरी न्यूनतम पूर्वाधार तयार गर्न निर्देशसन दिएका छन् ।

‘२०८० साल असार २५ गतेसम्म बसपार्क पूर्णरूपमा निर्माण भइसक्नुपर्ने तेस्रो पटक थपिएको अन्तिम म्याद हो । बजार अव्यवस्थित भइरहेका कारण वैशाख १ गतेबाट नै बसपार्कबाट बस चलाउने हाम्रो योजना हो,’ प्रमुख जिल्ला अधिकारी थापाले भने,‘शौचालय, पानी, बिजुलीलगायतका न्यूनतम पूर्वाधार वैशाख १ अघि नै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेका छौं ।’ उनकाअनुसार अटेर गरे निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइनेछ । प्रजिअ थापाले तोकिएको समयमा काम नगर्ने, पटकपटक म्याद थप गराउँदै काम अल्झाइरहने प्रवृत्ति देखिएको बताए ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

लोकतान्त्रिक मधेशी मोर्चा गठन

कान्तिपुर संवाददाता

जनकपुर — तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, सद्भावना पार्टीबीच सहकार्यका लागि लोकतान्त्रिक मधेशी मोर्चा गठन गर्ने निर्णय भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी मोर्चाको अवधारणापत्र सर्वजनिक गरिएको छ ।

अवधारणापत्र सार्वजनिक गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेशीको आन्दोलन मधेश र मधेसीका लागिमात्र नभई सिंगै नेपालीलाई अधिकार सम्पन्न बनाउन गरिएको बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मधेश आन्दोलनका मुद्दाहरूमाथि केन्द्रित रही समसामयिक विषयमा मधेशको सही प्रतिनिधित्व गर्ने उनको कथन थियो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेशको मुद्दामा विश्वास गर्ने सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु आवश्यक रहेको बताए । ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले समावेशितामाथि जोड दिएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंह तथा पूर्वशिक्षा राज्यमन्त्री गोविन्द चौधरी थारूको समेत उपस्थिति थियो ।

अवधारणापत्रमा संघीय गणतान्त्रिक संसदीय लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेशी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ ।

यसैगरी संघीय संसद्को दुवै सदनबाट दुई–दुई पटक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणको निमित्त पठाइएको नेपाल नागरिकता ऐन, २०६३ राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल प्रमाणीकरणको कार्य पूरा नगरिएपछि संविधानको मर्मअनुसार उक्त विधेयक स्वतः प्रमाणीकरण भएको जिकिर पनि गरिएको छ– ‘नागरिकता विधेयक स्वतः प्रमाणित भइसकेको हाम्रो दाबी छ । विधेयकलाई कानुन बनेको घोषणा गर्न माग गर्दछौं,’ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले भने ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×