२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘खोलामा बग्छ कालो लेदो, कसरी मनाउनु छठ !’

‘के गर्ने हाम्रो पुर्ख्यौली छठ घाट यही हो । खोला जतिसुकै प्रदूषित भए पनि यही खोलामा हामीले छठ पर्वको सम्पूर्ण विधि पूरा गर्नु परेको छ ।’
शंकर आचार्य

पर्सा — वीरगन्ज–११ रानीघाटकी ४२ वर्षीया पुनम देवीले यसै वर्ष पहिलो पटक चैते छठको व्रत लिएकी हुन् । वीरगन्जको रानीघाटस्थित रामजानकी मन्दिर छठ घाटमा सोमबार साँझ भेटिएकी पुनमले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन सिर्सिया नदीको पानी लोहोटीमा लिइन्, तर दूषित पानीले भने दिक्क बनायो । 

‘खोलामा बग्छ कालो लेदो, कसरी मनाउनु छठ !’

‘के गर्ने हाम्रो पुर्ख्यौली छठ घाट यही हो,’ उनले भनिन्, ‘खोला जतिसुकै प्रदूषित भए पनि यही खोलामा हामीले छठ पर्वको सम्पूर्ण विधि पूरा गर्नु परेको छ ।’

पुनमले यसो भनिरहँदा पर्वको विधिमा उनलाई सघाइरहेका उनका पति शिवपुजन कलवार पनि आक्रोशित देखिन्थे । ‘चैते छठ आएपछि हामीले यस वर्ष पनि अघिल्ला वर्षजस्तै खोलाको प्रदूषण घट्छ भन्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘तर त्यसो भएन, खोला प्रदूषित नै रह्यो, यत्रो महान पर्वमा दिन पनि खोलालाई प्रदूषणमुक्त गराउनुपर्छ र गर्नुपर्छ भनेर न त जिल्ला प्रशासन कार्यालयको ध्यान गयो, न त वीरगन्ज महानगरपालिकाको कार्यालयले नै पहल गर्‍यो, चोखो नितो र पवित्रतामा अति ध्यान दिइने पर्वमा व्रतालु प्रयोग गर्ने जलाशय नै अति प्रदूषित राखिन्छ भने यो हाम्रो धार्मिक आस्थामाथिको चरम खेलवाड हो ।’

पर्सा र बारामा सिर्सिया खोलामा मात्रै २ दर्जनभन्दा बढी छठ घाट छन् । घडिअर्वा अन्य पोखरीले मात्रै व्रतालुहरूको चाप धान्दैन । कतिपय व्रतालुहरूले सिर्सिया खोलाको घाटलाई नै परम्परागत छठ घाटको रूपमा प्रयोग गर्दै आएका छन् । तर यस वर्ष चैते छठमा पनि पर्सा बारा औद्योगिक करिडोरका उद्योगले खोलामा आफ्नो उद्योगबाट निस्कने रसायन र फोहोर फाल्ने काम बन्द नगरेपछि व्रतालु आक्रोशित छन् । खोलाको पानीमा कालो लेदो बगिरहेको छ । खोलाबाट आउने दुर्गन्धले व्रतालुलाई कष्ट भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छठ पर्वलाई लक्षित गरी आइतबारदेखि नै खोलामा प्रदूषित रसायन तथा फोहोर फाल्ने काम रोक्न प्रहरीलाई खटाइएको दाबी गरे । ‘आइतबारदेखि नै प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘सोमबार साँझसम्म खोला सफा हुन्छ होला ।’

पर्सा–बारा औद्योगिक करिडोरका २ दर्जन बढी उद्योगले यो खोलामा आफ्ना उद्योगबाट निस्कने फोहोर फाल्दा खोला अत्यन्त प्रदूषित भएको छ । यस क्षेत्रमा बढीजसो छाला उत्पादक उद्योग छन् । झन्डै डेढ दशकदेखि खोलालाई प्रदूषणमुक्त बनाउने प्रयास भइरहे पनि उद्योगले अटेर गरी रहेका छन् । पछिल्लो समय वीरगन्ज महानगरपालिकाको कार्यालयको पहलमा भएको प्रयास पनि प्रभावकारी भएको छैन ।

व्रतालुहरुले चैते छठको खरना विधिअन्तर्गत आइतबार साँझ घरघरमा र स्याउ रोटी खाएका थिए । सोमबार दिन भरी निर्जल निराहार कठोर व्रत बसेर साँझ अस्ताउँदो सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको चैते छठ पर्व सम्पन्न गर्ने छन् । शनिबार नै बजारमा छठ पर्वको पूजा सामग्री किनमेल गर्ने व्रतालुको चहलपहल देखिएको थियो । व्रतालु तथा तिनका परिवारका सदस्य माटाका भाँडा, अदुवा, उखु, नरिवल आदि खरिद गर्न बजार आएका थिए ।

व्रतालुहरुले अस्ताउँदो र उदाउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवल, केरा, अदुवा आदिको अर्घ्य दिएर यो पर्व मनाउने गर्छन् । पर्वको तीन दिन अघिदेखि नै व्रतालुहरुले शुद्ध चोखो भई खाना खाने विधि ‘नहाखाय’, दूध र गुँडबाट पकाइएको खिर र स्याउ र रोटी खाने गर्छन् । पर्वको दिन निर्जल निराहार व्रत लिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र व्रतालुले प्रसाद खाएर व्रत तोडने गर्छन् । तराईमा चैते छठभन्दा कात्तिके छठमा बढी व्रतालु हुने गर्छन् । पछिल्लो केही वर्ष यता भने चैते छठ मान्नेहरुको संख्या पनि बढेको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?