६ महिनामा हात्तीको आक्रमणमा ५ को मृत्यु

झापाबाट पर्सा आइपुगेको जंगली हात्ती यमगजको आक्रमण बारा, रौतहट र मकवानपुरमा
शंकर आचार्य

पर्सा — गत सोमबार रौतहटमा घाँस काट्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । चन्द्रपुर–धन्सारखण्डअन्तर्गत जंगलमा गएकी चन्द्रपुर नगरपालिका–४ का ४९ वर्षीय मीना मगरको घटनास्थलमै मृत्यु भएको हो ।

समूहमा गएका अन्यले भागेर ज्यान जोगाएका थिए । मगरलाई आक्रमण गर्ने हात्ती थियो, यमगज । पछिल्लो ६ महिनामा यमगजको आक्रमणमा परी ५ जनाको ज्यान गइसकेको छ । यमगजले बारामा २, रौतहटमा २ र मकवानपुरमा १ जनाएको ज्यान लिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका अनुसार १४ वर्षे किशोर हात्ती यमगज हिंस्रक देखिएको छ । यो हात्ती अहिले रौतहटको जंगलसैया क्षेत्रमा रहेको निकुञ्जको भनाइ छ । बारा, पर्सा, रौतहट र मकवानपुरको वन क्षेत्रमा आतंक मच्चाइरहेको यमगज बाराको टांगियाबस्ती क्षेत्रको राष्ट्रिय वन छोडेर जंगलसैया पुगेको हो । यमगजकै कारण निकुञ्जको हात्तीसारका ८ ढोईलाई सुरुमा रामभौरीभाठा र त्यसपछि प्रतापपुर पोष्टमा लगेर राखिएको छ ।

रौतहटको वाग्मती, गैडाटार, महेशपुरसम्म पुगिसकेको यमगज आफ्नो पुरानै थातथलोतर्फ फर्कने अनुमान बिपरित हाल बारा र रौतहटको वन क्षेत्रमा रमाइरहेको छ । निकुञ्जकर्मी यमगज रौतहटबाट पूर्व लाग्ने वा पश्चिमतिरै फर्किने तत्कालै अनुमान गर्न नसकिने निकुञ्जका सूचना अधिकृत सूर्य खड्का बताउँछन् । ‘यमगजले १० महिनायता रौतहटदेखि मकवानपुरसम्म ४ जिल्लाको विभिन्न स्थानमा आफ्नो उपस्थिति देखाएको छ, बढी समय निकुञ्जमा रमाएको थियो,’ उनले भने, ‘अहिले निकुञ्जको बाहिरी क्षेत्र बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा छ ।’

तत्कालै यमगजलाई धपाउने वा डार्ट गरेर बेहोस बनाई अन्यत्र लग्ने योजना पनि नरहेको उनले बताए । ‘हामीले यसअघि नै यमगजको दारा काटेर शान्त बनाउने प्रयास गरिसकेका छौं,’ उनले भने, ‘तैपनि उसको मात घटेको छैन ।’ निकुञ्जका पूर्व प्रमुख अशोक रामले असारको अन्तिम साता यमगजसंगै पर्सा निकुञ्जसम्म आइपुगेका ५ हात्तीमध्ये २ वटा फर्किसकेको बताए । तर अझै ३ वटा हात्ती भने निकुञ्ज र यसको वरपरको राष्ट्रिय वन क्षेत्रमै बसेको उनी बताउँछन् । २ वटा हात्ती पर्साबाट पूर्व फर्कने क्रममा हालै सिन्धुली र सिरहामा १/१ जनाको ज्यान लिएको थियो ।

असारको तेस्रो साता झापा, कोशी टप्पु हुँदै पूर्वबाट यमगजसहित ५ वटा हात्ती पर्सा निकुञ्जसम्म पुगेका थिए । पूर्वबाट सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराको टांगिया बस्ती हुँदै निकुञ्ज क्षेत्रमा ती हात्ती प्रवेश गरेका थिए । जंगली हात्तीको समूहले बर्सेनि झापादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा गर्ने र एउटा निश्चित समय पछि पुनः फर्कने गरेका छन् । तर यस बर्ष भने झापाबाट आएकामध्ये ३ वटा हात्ती लामो समय यतै बसेकाले उनीहरू यतैको रैथाने बन्न सक्ने सम्भावना रहेको राम बताउछन् । प्रायः असारको अन्त्यतिर हात्तीको समूह धान र मकै बाली खादै मानव बस्तीको छेउछेउ चुरे पवर्तको सिरानको आफ्नो परम्परागत मार्ग प्रयोग गरेर यसरी लामो यात्रा गर्ने गरेको उनले बताए ।

हाल यमगज, मकुना र दारे गरी ३ वटा हात्ती यतै छन् । यम पन्चकका दिन बाराको अमलेखगन्जमा एउटा महिलाको ज्यान लिएकाले उक्त जंगली हात्तीको नाम यमगज राखिएको हो । लामो समयदेखि उदण्डता मच्चाउदै आएको यमगजले निकुञ्जको अमलेखगन्ज हात्तीसारका ८ पोथी हात्तीको पछि लाग्न नछाडेपछि २ महिना अघि निकुञ्जको रामभौरीभाठाबाट ती हात्तीलाई मकवानपुरको प्रतापपुर पोस्टमा स्थानान्तरण गरिएको छ । निकुञ्ज प्रशासनले मंसिरको पहिलो साता ती ८ वटै हात्तीलाई अमलेखगन्जस्थित हात्तीसारबाट स्थानान्तरण गरी त्यहाँबाट २५ किमि पश्चिममा रहेको निकुञ्जको कोर एरिया मानिने पर्साको रामभौरीभाठामा लगेर राखेको थियो ।

तर त्यहा झाडै २ महिना राख्दा पनि यमगज ती ढोईकै वरिपरि बस्ने, चराउन नदिने र उनीहरूको रासन पनि खोसेर खाने गरेकाले निकुञ्ज प्रशासनले ढोईहरूलाई प्रतापपुर पोस्टमा स्थानान्तरण गरेको हो । ढोईहरूको पछिपछि प्रतापपुर पोस्टसम्म पनि पुगेको यमगज अर्को मत्ता हात्तीसँग २ पटक जुधेको थियो । त्यसपछि भागेको यमगज पर्सा, बारा र मकवानपुर र रौतहटको विभिन्न क्षेत्रमा घुमिरहेको छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

रोजगारी सुनिश्चित गर्न आईसीपी कर्मचारीको माग

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा कार्यरत नेपाल इन्टरमोडल यातायात विकास समितिका करार कर्मचारीले आइतबारदेखि सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

अप्रिल १ देखि निजी क्षेत्रलाई समितिले आईसीपी वीरगन्जको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन लागेको छ । यस क्रममा आफूहरूको रोजगारीको सुनिश्चितता तथा सेवासुविधा नपाए सेवा ठप्प पार्ने चेतावनी उनीहरूले दिएका हुन् ।

समितिअन्तर्गत आईसीपी वीरगन्जमा कार्यरत ३४ जना कर्मचारीले समिति वीरगन्ज कार्यालय प्रमुख, समितिका कार्यकारी निर्देशक तथा वाणिज्य सचिवसमेतलाई बुधबार ज्ञापनपत्र पठाउँदै आफ्नो ३ सूत्रीय माग अघि सारेका छन् । कर्मचारीका मागहरूमा आईसीपी वीरगन्ज सञ्चालनमा प्रमुख रूपमा भूमिका निर्वाह गरेबापत समितिबाट प्रत्येक १ वर्षको १ महिनाका दरले ५ वर्षको ५ महिना प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइनुपर्ने, रोजगारी सुरक्षितसहित न्यूनतम पहिलो चरणमा नै १ वर्ष करार सम्झौता गरेर मात्र निजी कम्पनीसँग सम्झौता गरिनुपर्नेछ ।

त्यसैगरी, टर्मिनल व्यवस्थापन कम्पनीलाई हस्तान्तरण हुनुभन्दा अघि सरकारबाट लागू भई खाईपाई आएको सेवासुविधा तलबभत्तामा नघट्ने गरी सम्झौता गराइदिने व्यवस्था गरिनुपर्ने माग पनि कर्मचारीको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कर्मचारीको रोजगारी सुनिश्चित हुने दाबी गरे । ‘निजी कम्पनीसँग आईसीपी सञ्चालनको करार सम्झौता गर्दा पनि प्रस्ट रूपमा समितिमा कार्यरत हालका कर्मचारीलाई निरन्तरता दिइनुपर्ने उल्लेख छ,’ उनले भने, ‘त्यसो नगरिए सम्झौता कार्यान्वयन नै हुँदैन ।’

समिति र कैलाश टर्मिनल्स जेभीबीच आईसीपी वीरगन्ज सञ्चालनको ठेक्का सम्झौता भइसकेको छ । कैलाशले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको हो । कैलाशले अप्रिल १ देखि आईसीपी सञ्चालन तथा व्यवस्थापन सुरु गर्दै छ । समितिले २०७९ साउन ११ मा यो आईसीपी सञ्चालनसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । समितिले न्यूनतम पट्टा बहाल रकम ६८ करोड ५७ लाख रुपैयाँ निर्धारण गरेको थियो । क्वालिटी कस्ट बेस मूल्यांकन विधिबाट कैलाश टर्मिनल्स जेभीलाई चयन गरिएको हो ।

प्रकाशित : चैत्र १२, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×