कटान कहरमा श्रीलंका टप्पु

‘यहाँ धान, मकै, कोदो, गहुँ र तरकारीको रूपमा सुन होइन, हीरा फल्छ, हीरा ! तर के गर्नु ? सुरक्षा नै छैन’
डिल्लीराम खतिवडा

उदयपुर — तीन बिघा खेत भएका बेलका नगरपालिका–३ श्रीलंका टापुका ६५ वर्षीय फूलमान माझी सप्तकोशीमा गत साउनमा आएको बाढीले धान खेती बगाइदिएपछि अहिले पनि उनी गहिरो चिन्तामा छन् ।

‘४०/५० मुरी धान फल्थ्यो,’ माझीले भने, ‘तर, बाढीले एक मुरीसमेत भकारीमा परेन ।’ अब छाँक टार्ने समस्या आएको उनले दुखेसो पोखे । उनी ६ वर्ष पहिले परिवारसहित चौदण्डीगढी–१ रानीटारबाट बसाइँ सरेर आएका हुन् । रानीटारको १३ रोपनी जग्गाको उत्पादनले वर्षभरि खान नपुगेपछि टापु आएको उनले बताए ।

‘रानीटारमा बाँदरले गरिखान नदिएपछि टप्पुमा झरियो, तर यहाँ कोशीको बाढीले उठिबास गराउँला जस्तो छ,’ उनले भने । गत वर्ष कटान भएको क्षेत्रमा अहिलेसम्म नियन्त्रणको काम नहुँदा निराशा बढेको उनले बताए । ‘अब यहाँ पनि गुजारा गर्न नसकिने भयो,’ उदास हुँदै माझीले भने, ‘दुखिया जहाँ गए पनि दुःखसँगसँगै जाँदो रहेछ ।’ उनले कोशीको बाढीले सुखले बाँचिएलाजस्तो लाग्न छोडेको बताए ।

कोशी टप्पुमा दुई वर्षयता कटान र डुबानको जोखिम बढेको छ । जनधनको सुरक्षामा अहिलेसम्म सरकारले खासै चासो नदेखाएको स्थानीयले बताए । ‘कटान रोक्न अस्थायी तटबन्धन बनाइयो,’ बेलका–३ वडासदस्य फालगुण कार्कीले भने, ‘त्यस यता अहिलेसम्म कुनै काम भएको छैन ।’

अहिलेसम्म तटबन्धन बनाउने काम सुरु नै नभएकाले अबको वर्षामा पनि डुबानमा परिने निश्चित रहेको उनले सुनाए । पूर्व–पश्चिम राजमार्गबाट उत्तर तथा मदन भण्डारी राजमार्गअन्तर्गतगको चतरा पुलभन्दा दक्षिण कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र हो श्रीलंका टप्पु ।

यहाँ एबीसी र चिलैया (श्रीलंका) टप्पु गरी दुई गाउँको आम्दानीको मुख्य स्रोत कृषि हो । कोशीको पूर्वीपट्टि तटबन्ध छ । तर पश्चिमतर्फ नहुदाँ बर्सेनि सयौं बिघा जग्गा कोसीले कटान गरिरहेको छ । ‘यहाँ धान, मकै, कोदो, गहुँ र तरकारीको रूपमा सुन होइन, हीरा फल्छ, हीरा π’ सुनसरीतर्फको चिलैया टप्पुका ४३ वर्षीय विजेन्द्र मण्डलले भने, ‘तर के गर्नु ? यहाँ सुरक्षा छैन ।’ मण्डलका अनुसार टप्पुवासीलाई बाटो र बिजुलीको चिन्ता छैन । वन्यजन्तुको सामना स्थानीयले आफैं गर्छन् । उनले आफूहरूलाई कोशीको बाढीबाट सुरक्षा भए पुग्ने बताए ।

अस्थायी तटबन्धले समस्या समाधान नहुने भन्दै स्थानीयले अहिले पनि स्थायी उपायका लागि सरकारसँग अनुरोध गरे पनि काम भने सुरु नभएको स्थानीयले बताए । कोशीको पश्चिम तटीय क्षेत्र उदयपुरतर्फ बाढी रोकथामको सामान्य काम भए पनि अहिलेसम्म तटबन्ध नै लगाउने काम भने नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ‘आवश्यक तटबन्धका लागि माथिल्लो निकायमा पत्रचार गरिएको छ,’ उनले भने, ‘तर, अहिलेसम्म उपलब्धिमूलक काम केही पनि भएको छैन ।’

प्रकाशित : चैत्र १२, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनजंघा क्षेत्र आरोहीले भरिभराउ

यसै सिजन ५०–६० जनासम्म विदेशी आरोही 
आगामी सातादेखि ३ सयको हाराहारीमा बेसक्याम्पमा हुने अनुमान
आनन्द गौतम

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि यो सिजन पाँच दर्जन बढी विदेशीको उपस्थिति हुने भएको छ । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता बेसक्याम्प पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् ।


अन्नपूर्ण र सगरमाथापछि मात्रै चहलपहल बढ्ने कञ्चनजंघा क्षेत्रको घुन्सा बेसक्याम्पमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेको स्थानीय बताउँछन् ।

पर्यटन मन्त्रालयले कञ्चनजंघा हिमाल आरोहीको संख्या यकिन गरिसकेको छैन । तर, यो सिजनमा ५० देखि ६० जनासम्म त विदेशी आरोही मात्रै हुने इलाइट एक्सपिडिसन ग्रुपका मिङमा डेभिड शेर्पा बताउँछन् । कञ्चनजंघा हिमालमा व्यवसायी स्वयंले बाटो बनाउनुपर्ने भएकाले कतिको संख्यामा आरोही हुन्छन् भन्ने प्रारम्भिक तथ्यांक निकालिएको उनले बताए । उनको कम्पनीबाट पनि यो वर्ष दर्जन बढी विदेशी आरोही छन् । पैदलमार्ग खराब भएकाले उनीहरूका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि उनले बताए । आरोही, सहयोगी, खाना पकाउने, बाटो बनाउने शेर्पासमेत गरी अर्को सातादेखि तीन सयको हाराहारीमा बेसक्याम्पमा उपस्थिति हुने अनुमान मिङमा डेभिडको छ ।

कोरोना संक्रमणका कारण २०७५ देखि ०७७ सालमा हुन नसकेको कञ्चनजंघामा गतवर्ष आरोहण भएको थियो । यो वर्ष पनि गत वर्षकै जस्तै विदेशी आरोही रहेको व्यवसायी बताउँछन् । कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मन, इरान, जापानलगायतबाट ट्रेकिङ गर्नेहरूचाहिँ घुन्सा पुगेका छन् । साउथ र नर्थ दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि नर्थबाट आरोहण गर्ने कोही पनि नभएको टाँसीले बताए ।

‘अब केही दिन पछि गाउँनै पर्यटकले भरिनेछ,’ टाँसिले थपे, ‘होटलवालालाई सोध्दा राम्रै संख्यामा बुक गरेको जानकारी दिनुभएको छ ।’ सामान्य अवस्थामा १ हजार ४ सय सम्मले भ्रमण गरेको तथ्यांक रहेको कञ्चनजंघा संरक्षण क्षेत्रको दुवै बेसक्याम्पमा पुगिसकेका होटल व्यवसायी टाँसीले बताए । कञ्चनजंघामा जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्यांक छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि आउने गरेका छन् । सहज अवस्थामा पुस, माघ, असार र साउनमा बाहेक विदेशी पर्यटक आउने गरेको टाँसी बताउँछन् ।

ठूलो संख्यामा भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरमा आउँछन् । आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने मिङमाडेभिड बताउँछन् । १९५५ मे २५ का दिन पहिलो पटक कञ्चनजंघाको आरोहण भएको थियो ।

सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजंघा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएको छ । अहिले १६ दिनमा दुवै बेसक्याम्प पुगेर फर्कन सकिने पर्यटन व्यवसायी बताउँछन् । यात्रा गर्न सक्नेले ११ दिनमै पनि टुंग्याउँछन् । पूर्वमा सिरिजंघा गाउँपालिकाको याम्फुदिन र उत्तरमा फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म यातायातका साधन चल्छ । त्यहाँदेखि भने पैदल यात्रा गर्नुपर्छ । हिमाली क्षेत्रमा लेक लाग्ने भएकोले आराम गर्दै हिँड्न पर्यटक गाइडको सुझाव छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×