जनावरलाई थापेको विद्युतीय पासोमा परेर सर्लाहीमा एकको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बलरामा जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५ कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।

महतो राति पिसाब फेर्न छिमेकीको मकैबारी जाने क्रममा बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाकारी दिए ।

जंगली जनावरले बाली नष्ट पार्न थालेपछि सर्लाहीका किसानले बाली जोगाउन विद्युतीय पासो तथा जालीको प्रयोग गर्दै आएका छन् । तर बाली जोगाउन खेतबारीमा करेन्ट प्रवाह हुँदा बर्सेनि मानिसको मृत्यु हुँदै आएको छ । पछिल्लो समय वन जंगल संरक्षण हुन नसक्दा जंगली जनावरहरु किसानको खेतबारीमा पस्ने गरेका छन् । वनमा बर्सेनि लाग्ने डढेलोले पनि जनावरहरु किसानको खेतबारीमा पसिरहेका छन् ।

प्रकाशित : चैत्र ९, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

तन्नेरी पुस्ता एकदमै आत्तिएको छ, देश छोडेर भाग्न चाहन्छ : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताएका छन् । उनले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।

‘हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन् । हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भनेर कसैले आश गर्न सकिरहेको छैन,’ उनले भने, ‘मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन । वास्तवमा अवस्था त्यति धेरै बिग्रिएको पनि होइन, त्यसैले मान्छेले घरमा सुत्दै गर्दा देशमा केही न केही त राम्रो हुँदैछ भनेर आशा राखेर सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका होस् ।’

उनले आफूले अहिलेजस्तो तन्नेरीहरू आत्तिएको कहिल्यै पनि नदेखेको बताए । ‘मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन । मैले कसैलाई पनि अत्याउन खोजेको होइन, तर मैले काम गर्दा जे अनुभूति गरिरहेको छु, त्यो भन्दैछु कि अहिले मुलुकको भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिएको छ,’ उनले भने ।

उनले सरकारले हिजोभन्दा आज राम्रो हुँदैछ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने बताए । ‘वास्तवमा अहिले तन्नेरीहरू आत्तिनुपर्ने बेला होइन, डराउनुपर्ने, आत्तिनुपर्ने प्रधानमन्त्रीले हो, सरकारले हो,’ उनले भने, ‘वास्तवमा यो प्रधानमन्त्री डराउने बेला हो । मैले त प्रधानमन्त्रीजीलाई भनेको पनि छु कि तपाईंहरू केही समय लिएर सोच्नुहोस्, वरिपरिको गणित मात्रै हेर्नुभयो भने सिंगै देश डराउनुपर्ने स्थिति हुन्छ । तर बेलैमा डराइदिनुभयो भने नागरिकको डर भाग्छ ।’

प्रकाशित : चैत्र ९, २०७९ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×