
राजविराज — राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा समाजवादी विद्यार्थी युनियनका रण्जितकुमार यादव विजयी भएका छन् । बुधबार मध्यराति सम्पन्न मतगणनाको अन्तिम परिणम अनुसार ४ सय २३ मत प्राप्त गर्दे रण्जित सभापतिमा चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका रञ्जिवकुमार साहले १ सय ९९ मत प्राप्त गरे ।

यस्तै, सचिवमा समाजवादी विद्यार्थी युनियनकै सुनिलकुमार मण्डल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सत्यनारायण चौधरीले १ सय ६७ मत प्राप्त गरे । कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनका मेनुका साह निर्वाचित भएकी छन् । उनले ३ सय १९ मत प्राप्त गर्दे विजयी भएकी हुन् ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्प्समा जनता समाजवादी पार्टी निकटको समाजवादी विद्यार्थी युनियन, माओवादी निकटको अखिल क्रान्तीकारी र लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धन गरेर चुनाव लडेको थियो ।
सदस्यहरुमा सोही संयुक्त गठबन्धन विनय यादव, मोहम्मद जकाउल्लाह, रामानन्द राम, प्रकाश यादव, कञ्चन ठाकुर,नन्दन मण्डल र राकेश यादव निर्वाचित भएका छन् ।
गत आइतबार नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समपन्न भएपनि विवादका कारण बुधबार दिउँसो मात्र मतगणना सुरु भएको थियो ।
प्रकाशित : चैत्र ९, २०७९ १०:१५