कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई नगर प्रमुखविरुद्ध अनशन

रौतहट — सूचना लुकाउने र आर्थिक अनियमितता गरेको भन्दै रौतहटका दुई नगर प्रमुखविरुद्ध जनप्रतिनिधि र राजनीति दलले अनशन थालेका छन् । गरुडा नगरपालिकामा स्थानीय युवा आमरण अनशनमा र बृन्दावन नगरपालिकामा वडाध्यक्षलगायत दलका प्रतिनिधि रिले अनशनमा बसेका हुन् । नगरपालिकाले गरेको विभिन्न कामको खर्च विवरणसहित सूचना माग्दा नदिएको र अनियमितता गरेको भन्दै नगर प्रमुखविरुद्ध उनीहरूले अनशन थालेका हुन् ।

दुई नगर प्रमुखविरुद्ध अनशन

गरुडा नगरपालिकाका प्रमुख कन्थमणि जैसवालसित विद्युत्, इन्टरनेटमा गरेको खर्च, उपलब्धि, कर्मचारी नियुक्ति, हाजिर रजिस्टर, तलब पेस्की विवरण, पदपूर्ति समितिको छनोट प्रक्रिया अनियमितता गरेको आरोप छ । यसैगरी विकास योजनाको भुक्तानी, दर्ता चलानी किताब र प्रतिलिपि, कोरोना पीडितलाई दिएको रकम, नगरपालिकाका बैंक खाताको विवरण, हालसम्म भएको खर्चको मासिक विवरणलगायत सार्वजनिक सुनुवाइ हुनुपर्ने मागसहित आमरण अनशन बसेको स्थानीय दीपक यादवले बताए । यादव नगरप्रमुखका प्रत्याशी थिए । उनी गत आइतबारबाट आमरण अनशनमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । यादवलाई समर्थन जनाउँदै अनशन स्थलमा कांग्रेस, जसपालगायतका नेता सहभागी छन् । अनशन स्थलमा नगरपालिकाका पूर्वउपमेयर रंगीलादेवी जैसवालसमेत सहभागी छिन् ।

सूचनाको हक प्रयोग गर्दासमेत कतिपय सूचना नदिएको र नगरपालिकामा कुन काम भइरहेको छ भन्ने नगरवासीले जानकारी नगराइएको यादवको बताए । ‘मैले सूचना मागेर कुनै गलत गरेको छैन, नगरपालिकामा अनियमितता छ,’ उनले भने, ‘राम्रो काम गरेको छ भने सूचना माग्दा किन दिन मान्दैन । जबसम्म सूचनाको मागको सम्बोधन हुँदैन तबसम्म अनशन जारी रहन्छ ।’ नगरप्रमुख जैसवाललाई जहाँ भेट्यो त्यही सूचना माग्ने, गाली गलौज गर्ने, घेराउ गर्ने र कार्यकर्ता लगाएर घरमा ढुंगामुढा प्रहार गरेको भन्दै ३ दिनअघि इलाका प्र्रहरी कार्यालय गरुडाले यादवलाई नियन्त्रणमा पनि लिएको थियो ।

नगर प्रमुख जैसवालले अनशन बसेका यादवप्रति लक्षित गर्दै आफूमाथि कार्यालयमै आएर अपमान र दुर्व्यवहार गर्दा प्रहरीले पक्राउ गरे पनि कारबाही नगरेको बताए । ‘घरमै बसीबसी तलब लिने करारका कर्मचारी हटाए, दीपक यादवका मानिस हटाएको भनेर मलाई टार्गेट बनाउने काम भयो,’ उनले भने, ‘मैले कुनै अनियमितता गरेको छैन । यादवले मागेको सबै कागज दिइसकेको छु ।’

यता, बृन्दावन नगरपालिका नगरप्रमुख विनोदप्रसाद कुर्मीले सूचना माग्दा नदिएको र विभिन्न शीर्षकमा रकम भ्रष्टाचार गरेको आरोप छ । वडा २ का अध्यक्ष सिकिन्द्र राउत कुर्मी, ३ का वडाध्यक्ष हरिनारायण साह, ४ का वडाध्यक्ष श्यामनन्दन राय र ५ का वडाध्यक्ष फेकु दास रिले अनशनमा बसेका छन् । उनीसँगै नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही राय यादवलगायत एमाले, माओवादी, कांग्रेस, जसपा र आमजनता पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता अनशनमा बसेका छन् ।

दुई महिनादेखि नगरपालिकामा भएको विकास निर्माणमा खर्चको विवरण र बैंक स्टेटमेन्ट, शिक्षा क्षेत्रमा भएको खर्च, करारका कर्मचारीको नियुक्ति र हाजिरी रजिस्टर, पदपूर्ति समितिको निर्णयलगायतका कागजपत्र लुकाएको आरोप छ । यसैगरी पेस्कीको विवरण, कोरोना पीडितलाई दिइएको रकमको विवरण, वाग्मती नदीमा अमानतमा उठाइएको रकमको विवरण, बैंक भौचर, ०७९ जेठदेखि हालसम्म इन्धनमा भएको खर्च र गाडीको लगबुक, दर्ता चलानी गरेका पत्रको प्रतिलिपिलगायत खर्चको विवरणबारे सार्वजनिक सुनुवाइको माग राख्दै सूचना माग्दा नदिएकाले अनशन बस्नुपरेको नगर प्रमुखका प्रत्याशी रामप्रसाद पटेलले बताए ।

प्रकाशित : चैत्र ८, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?