धनुषामा ५० हजार घुससहित वडाध्यक्ष र सचिव अख्तियारको नियन्त्रणमा

कान्तिपुर संवाददाता

धनुषा — जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका-६, रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी डलरबाहेक विदेशी मुद्रा सटहीमा १ प्रतिशतभन्दा बढी अन्तर राख्न नपाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले अमेरिकी डलरबाहेक परिवर्त्य विदेशी मुद्रा सटही गर्दा खरिद र बिक्री दरको अन्तर १ प्रतिशतभन्दा बढी राख्न नपाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बुधबार उक्त व्यवस्था गरेको हो । यसअघि अमेरिकी डलर सटहीमा मात्र खरिद दर र बिक्री दरको अन्तर नेपाली ६० पैसाभन्दा बढी हुन नपाउने व्यवस्था थियो । उक्त व्यवस्था कायमै राखेर राष्ट्र बैंकले अहिले अमेरिकी डलरबाहेकका परिवर्त्य विदेशी मुद्राको हकमा १ प्रतिशतको सीमा तोकेको हो ।

यसअघि डलरबाहेकका परिवर्त्य विदेशी मुद्राको हकमा यस्तो सीमा तोकिएको थिएन । यही कारण बैंक तथा वित्तीय संस्थाले ६/७ प्रतिशतसम्म पनि बढी रकम लिएर सटही दिँदै आएका थिए । ‘बैंक तथा वित्तीय संस्थाले परिवर्त्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवर्त्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० भन्दा साना दरका नगद नोट खरिद समेत) र बिक्रीदर बीचको फरक १ भन्दा बढी नहुने गरी तोक्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘तर, अमेरिकी डलरको हकमा त्यस्तो फरक ने.रु.०.६० भन्दा बढी हुने छैन ।’

प्रकाशित : चैत्र ८, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×