नाकामै थन्किए नयाँ सवारीसाधन- मधेस - कान्तिपुर समाचार

नाकामै थन्किए नयाँ सवारीसाधन

कान्तिपुर संवाददाता

पर्सा — आयातकर्ताले जाँचपास गरेर नलैजाँदा वीरगन्ज भन्सार नाकामा ठूलो संख्यामा नयाँ सवारीसाधन थन्किएका छन् । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसर (आईसीपी) मा जिप, कार, भ्यान र बस तथा ट्रकका चेसिस गरी २ हजार १३ नयाँ सवारीसाधन छन् । तीमध्ये ६ सय २० नयाँ जिप, कार, भ्यान हुन् भने १ हजार ३ सय ९३ बस/ट्रकका चेसिस छन् । 

आयातकर्ताले थन्किएका सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा लगेर राख्न पाउनुपर्ने माग गरिरहँदा आईसीपी परिसरमा भने अब नयाँ सवारीसाधन राख्ने स्थानको अभाव हुन थालेको छ । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका अपरेसन इन्जार्च जितेन्द्र रसाइलीले आयातकर्ताले बस तथा ट्रकका चेसिस र जिप, कार फाट्टफुट्ट छुटाएर लग्ने गरेको बताए । तर, जाँचपास गराउने भन्दा नयाँ सवारीसाधन भित्रिने दर बढी रहेकाले आईसीपी परिसरमा सवारीसाधनको संख्या घट्न सकेको छैन ।

‘गत आइतबार मात्रै भारतीय दूतावासले २८ वटा एम्बुलेन्स भित्र्याएको छ,’ उनले भने, ‘अन्य आयातकर्ताले पनि नयाँ सवारीसाधन आयात गर्ने क्रम जारी छ, केही दिन बिराएर यस्ता सवारी जाँचपास पनि भइरहेकै छन्, तर त्यो संख्या पर्याप्त छैन ।’ वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सारमा अड्किएका सवारीसाधनको निकासको सम्बन्धमा मंगलबार सरोकारवालासँग राखिएको बैठक पनि निष्कर्षविहीन भएको बताए । कार्यालयले इन्टरमोडलसँगको समन्वयमा यो नाकाबाट सवारीसाधन आयात गर्ने मुख्य आयातकर्ता सिप्रदी, लक्ष्मी क्लियरिङ, टोयोटा, आइएमई मोटर्सलगायत कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो ।

रसाइलीका अनुसार बस र ट्रकका चेसिसको प्रमुख आयातकर्ता सिप्रदी ट्रेडिङ हो । उक्त कम्पनीले मात्रै यहाँ आयात हुने कुल चेसिसको झन्डै ७० प्रतिशत आयात गर्छ । त्यसपछि क्रमशः आईएमई मोटर्स, ओम्नी मोटर्स हुन् । आईएमई मोटर्सले अशोक लेल्यान्ड र ओम्नी मोटर्सले भारत बेन्ज ब्रान्डका चेसिस आयात गर्छन् । थोरै चेसिस दुगड समूहले पनि आयात गर्छ । त्यसैगरी, जिप, कार, भ्यानको प्रमुख आयातकर्ता युनाइटेड ट्रेड सिन्डिकेट प्रालि, अग्नि इनकर्पोरेट प्रालि र लक्ष्मी इन्टरकन्टिनेन्टल हुन् । वीरगन्ज भन्सारका प्रवक्ता रामचन्द्र ढकालले बैंक तथा वित्तीय संस्थाहरूले लगानी नगर्दा तथा ब्याज दर नघट्दासम्म नयाँ सवारीसाधन जाँचपास सुस्त नै रहने बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

कोशी करिडोर सञ्चालनपछि राहत

दीपेन्द्र शाक्य

संखुवासभा — भोल्टेज नपुग्ने र बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्याबाट आजित बानेश्वर र तुम्लिङटारका बासिन्दाले कोशी करिडोरको सबस्टेसन सञ्चालनपछि राहत पाएका छन् । इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन सञ्चालनमा आए पछि स्थानीय उपभोक्तालाई राहत भएको हो । 

सबस्टेसन नहुँदा हावाहुरी र वर्षाका कारण बिजुली अनियमित हुने गरेको थियो । यसअघि जिल्लामा उत्पादन गरिएको बिजुली केन्द्रीय प्रसारण लाइनमार्फत आउँदा भोल्टेज नपुग्ने र बेलाबेलामा अवरुद्ध हुने समस्या स्थानीयले भोग्दै आएका थिए । यस करिडोरबाट पहाडी जिल्लाहरूमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरण गर्न पनि सहज भएको छ ।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान कोशी करिडोर सञ्चालनबाट राहत महसुस गरेको बताउँछन् । ‘दैनिक ४० पटकभन्दा बढी बिजुली जाँदा हैरान भएका थियौं,’ उनले भने, ‘अहिले समस्या धेरै हटेको छ ।’ करिब ३ महिना अघिबाट उक्त सबस्टेसन सञ्चालनमा आएको हो । पहिले सामान्य बिजुलीको पोलबाट ११ केभीएबाट सदरमुकाम खाँदबारीमा बिजुली ल्याइएको थियो । कोशी करिडोरले अहिले कम्तीमा सय फिटभन्दा अग्ला टावर राखेर तुम्लिङटारसम्म बिजुली ल्याएको छ । संखुवासभा र भोजपुरवासीले यसअघि हावाहुरीको मौसममा चैतदेखि असोजसम्म राम्ररी बिजुली बाल्न पाउँदैनथे ।

विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख सञ्जीव कर्ण अहिले विद्युत् अनियमितताको समस्या हटेको बताउँछन् । ‘संखुवासभा र भोजपुरमा उत्पादन भएको स्थानीय उत्पादनसमेत यसैमा जोडिएको छ,’ उनले भने, ‘केन्द्रीय प्रसारण लाइन अवरुद्ध भएको खण्डमा हामी यहीको स्थानीय उत्पादनबाट जिल्ला उज्ज्यालो बनाउँछौं ।’

संखुवासभाका विभिन्न खोलामा उत्पादित २० मेगावाट र भोजपुरको १२ मेगावाट बिजुली यो करिडोरमा जोडिएको छ । यो बिजुली धनकुटा, भोजपुर र तेह्रथुमसम्म बाल्न मिल्ने उनले बताए । ‘पहाडी जिल्लामा हुने विद्युत् अवरोध घट्दै गइरहेको छ,’ उनले भने, ‘जिल्लाभित्र आन्तरिक समस्या आएको खण्डमा बिजुली काट्नुपर्ने हुन्छ ।’ कर्णका अनुसार मासिक र साप्ताहिक सरसफाइका बेला केही घण्टा अवरुद्ध हुन्छ । उनले भने, ‘लत्रिएका रूखका हाँगा र पात पतिंगर सफा गरिरहन्छौं, ठूलो हावापानी आयो भने मात्र समस्या हुन्छ ।’

खाँदबारीका मोबाइल व्यवसायी कृष्ण पुरीले अहिले भोल्टेज कम हुने समस्या नभएको बताउँछन् । ‘पहिले भोल्टेज नपुग्ने र दिनमा धेरैपटक अवरोध हुने समस्या थियो, यसले हामीलाई समस्यामा पारेको थियो,’ उनले भने, ‘भोल्टेज तलमाथि हुँदा धेरै सामग्री बिग्रेका थिए ।’ कोशी करिडोरको २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट तेह्रथुमको वसन्तपुर, संखुवासभाको बानेश्वर हुँदै तुम्लिङटारसम्मको २ सय २० केभी डबल सर्किट टावर निर्माण गरिएको छ ।

कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न उक्त करिडोरको निर्माण गरिएको हो । यसअघि तिरतिरे सबस्टेसनबाट बिजुली सदरमुकाम ल्याइएको थियो । लामो दूरीमा साना बिजुलीका पोलबाट तार ल्याउँदा सामान्य हावाहुरीमा पनि चुडिने र तार भुँइमा लत्रिएर धेरै अवरुद्ध हुने समस्या थियो ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×