पप्पुको बैंक ग्यारेन्टी जफत- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पप्पुको बैंक ग्यारेन्टी जफत

शिव पुरी

रौतहट — ठेक्का रद्द भए पनि गौर नगरपालिका–४ स्थित टिकुलिया नदीमा पुल बलजफ्ती निर्माण थालेको पप्पु कन्स्ट्रक्सनले कामदार फिर्ता लगेको छ । कामदार फर्किएपछि पुलको काम रोकिएको छ । पुल बनाउन पप्पुले उच्च अदालत वीरगन्जमा मागेको अन्तरिम आदेश खारेज भएपछि सडक कार्यालयले पप्पुको बैंक ग्यारेन्टी जफत गरेको छ ।

टिकुलिया घाटमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्ने ०७१ असार २९ मा सम्झौता गरेको थियो । निर्माणको काम बीचैमा छाडेर पप्पु सम्पर्कविहीन भए । काम अलपत्र परेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक–पटक पत्र पठाएर काम थाल्न अनुरोध गरे पनि कुनै सुनवाई नगरेपछि सडक कार्यालयले ठेक्काको म्याद थप गरेन् ।

ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेकाले सम्झौताको सर्त विपरित गएको भन्दै जेठ १० गते ठेक्का रद्द गर्‍यो । त्यसपछि ठेक्का रद्दका लागि अन्तरिम आदेश जारी गराउन पप्पुले उच्च अदालत वीरगन्जमा मुद्दा दायर गर्‍यो । अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत राख्न भन्दै अन्तरिम आदेश दियो । त्यही आदेश टेकेर पप्पु फेरि पुलको निर्माण थाल्यो ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले दिएको मुद्दाको अन्तरिम आदेश खारेज गरेकाले अब नयाँ ठेक्काको लागि बाटो खुलेको बताए । ‘ठेकेदारले ठेक्का सकार गर्नेबेला राखेको बैंक ग्यारेन्टीसमेत जफत गरिसकेका छौं,’ साहले भने ।

अदालतमा मुद्दा चल्दै गर्दा सडक कार्यालयलाई खबरै नगरी एकलौटीढंगले पप्पुले साइडमा काम गर्दै आएको थियो । अहिले उसले काम बन्द गरेको छ । साइडमा पप्पुले राखेको डन्डी र मेसिन त्यतिकै अलपत्र छ । साइड सुनसान छ । तत्कालिन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आव्हान गरेको थियो । पप्पुले उसैबेला १४ करोड ९३ लाखमा टेन्डर सकार गरेको थियो ।

ठेकेदारले बिनाकारण बीचमै काम छाडेर गएपछि पुल अलपत्र छ । ठेक्काको सम्झौता ०७४ असार २५ मा सकिएको थियो । ठेकेदार कम्पनीका प्राविधिक जमुना यादवले अदालतको आदेशकै भरमा काम गरेको बताउँदै आएका थिए ।

प्रकाशित : माघ २६, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

टर्की/सिरिया भूकम्प : मृतकको संख्या १५ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परी टर्कीमा मात्रै कम्तीमा १२ हजार ३ सय ९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सिरियामा कम्तीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ।

अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने जनाएको छ ।

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । विमानस्थलका टर्मिनलमा समेत भूकम्पपीडितहरूले आश्रय लिइरहेका छन् ।

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।

प्रकाशित : माघ २६, २०७९ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×