जबर्जस्ती करणी मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिने पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबर्जस्ती करणी मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिने पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — जबर्जस्ती करणी मुद्दा मिलाइदिन्छु भन्दै पीडकसँग पैसा लिएको अवस्थामा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । दलालले लिएको पैसासमेत प्रहरीले फिर्ता गराएको जनाएको छ ।

मुद्दा मिलाइदिने भन्दै पीडकका अभिभावकसँग रकम लिने गोडैताका प्रभन्स साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका साहले आफन्तको माध्यमबाट उनीहरुसँग लिएको १ लाख ५ हजार रुपैयाँ बिहीबार फिर्ता गराइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले दलालमध्येका एक जना अझै पनि फरार रहेकोले खोजी भइरहेको बताए ।

सर्लाहीको गोडैतामा गत चैतमा एक नाबालिग पोखरीमा घोघीं टिप्न जाँदा बलात्कृत भएकी थिइन् । दुई जनाको सहयोगमा एक नाबालकले जबर्जस्ती करणी गरेको मुद्दामा ती तीनै जना बालक थुनामा छन् । थुनामा परेकाहरुलाई छुटाइदिन्छु भन्दै साहसहित फरार दलालले एक बालकका अभिभावकसँग ९५ हजार र अर्का अभिभावकसँग १५ हजार रुपैयाँ लिएको खुलेपछि पक्राउ गरी उनका आफन्तबाट रकम फिर्ता गर्न लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार एक महिलाले छोरा थुनामुक्त गराउन भन्दै ९५ हजार र अर्का अभिभावकले १५ हजार गरी १ लाख ५ हजार रुपैयाँ १० महिना अगाडि नै दलाललाई बुझाएका थिए ।

प्रकाशित : माघ १९, २०७९ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्

नुनमा रासायनिक पदार्थ मिसाई ‘मल हो’ भन्दै बेच्ने एक जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — नुनमा रासायनिक पदार्थ मिलाई मल हो भन्दै बेच्ने एक जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमै नक्कली मल बनाई किसानलाई बेच्दै आएका गोडैता नगरपालिका ७ का ५५ वर्षीय मोहन दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दास नुनमा रसायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएका थिए । दासले गोडैता-७ स्थित घरमा महालक्ष्मी कृषि सहकारी संस्था र गोडैता-८ बजारमा दास बिज भण्डार नामले नक्कली मलको व्यापार गर्दै आएका थिए ।

पक्राउ परेका दासको घरमा रहेको महालक्ष्मी सहकारीबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको प्रतिबोरा ५० किलो वजन भएको ३१ वटा बोरा र खुल्ला २५ किलो रहेको १ वटा बोरा, आईपीएल डीएपी इन्डियन पोटास लेखिएको पहेलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० वटा बोरा र सोही कम्पनीको १ वटा खाली बोरा बरामद गरेको छ । त्यस्तै सोही संस्थाबाट साल्ट लेखिएको सेतो रङको (नुन) को प्रतिबोरा ५० किलो दर भएको १ सय ३ वटा बोरा, डिजिटल तौल गर्ने मेसिन १ थान, रातो रङ लागेको बेल्चा १ थान, बिरला ओक्साइड सिमेन्ट लेखिएको खाली प्याकेट ४ वटा र आधा-आधा भरिएको प्याकेट २ वटा तथा बोरा सिलाउने मेसिन १ थान बरामद गरेको हो ।

यस्तै बजारमा दास बिज भण्डार नामले सञ्चालनमा ल्याएको पसलबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको प्रतिबोरा ५० किलो वजन भएको पहेँलो रङको सिलाएको बोरा १० वटा बरामद गरेको छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नुनलाई नक्कली मल बनाएको खबर पाएपछि दाससहित सामानहरू नियन्त्रणमा लिएको जानकारी दिए । उनले दासमाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : माघ १६, २०७९ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×