मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त- मधेस - कान्तिपुर समाचार

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

अजित तिवारी

जनकपुर — मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ ।

बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुन् ।

त्यस्तै प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

यादव मधेस प्रदेशका दोस्रो मुख्यमन्त्री भएका हुन् । यसअघि उनकै दल जसपाबाट लालबाबु राउत मधेस प्रदेशका मुख्यमन्त्री थिए ।

प्रकाशित : पुस २७, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन

अजित तिवारी

जनकपुर — जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् । मधेस प्रदेशका  पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।

बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादवले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिस्थापन गर्नेछन्। सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार मधेसमा जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन् । करिब एक सातादेखि जसपाको संसदीय दलको नेता छान्न प्रक्रिया थालिएको थियो । सोमबार साँझ संसदीय दलको नेता छान्न चुनाव नै गराउने तयारी भए पनि यादवलाई अचानक सर्वसम्मत चयन गरिएको छ ।

जसपाका नेता एवं मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले सर्वसम्मतबाट संसदीय दलको नेतामा यादवलाई चयन गरिएको बताए । उनले दलको नेता छानिएपछि सरकार गठनबारे गठबन्धनका दलसित छलफल हुने बताए । जसपाको संसदीय दलका नेताका लागि हालका मुख्यमन्त्री लालबाबु राउत, रामाशिष यादव र सरोज यादव प्रतिस्पर्धामा थिए । रामाशिषले सोमबार बिहान सरोजलाई समर्थन गरेपछि मुख्यमन्त्री राउत पनि पछाडि हटे ।

मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

मधेस प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

प्रकाशित : पुस २५, २०७९ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×