कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

धनकुटाका तीन सहकारीबाट साढे चार करोड अपचलन

नगरपालिकाद्वारा कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार

धनकुटा — धनकुटा नगरपालिका क्षेत्रमा सञ्चालित तीन सहकारी संस्थाले झन्डै एक सय बचतकर्ताको साढे ४ करोड रकम अपचलन गरेको उजुरी परेको छ । बचतकर्ताले धनकुटा नगरपालिकासमक्ष छानबिनका लागि माग गरेपछि नगरले थप छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । असार ३० मा नगरपालिकाले जिल्ला प्रहरीलाई पत्राचार गरेको हो ।

धनकुटाका तीन सहकारीबाट साढे चार करोड अपचलन

नगरपालिकाले छानबिन गर्दा झन्डै साढे ४ करोड रकम अपचलन भएको पाइएको प्रशासकीय अधिकृत दशरथ राईले बताए । नगरपालिकाले थप छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । ‘हामीले गहिरिएर छानबिन गर्दा अपचलन गरेको पुष्टि भएको हो,’ उनले भने, ‘रकम फिर्ता गराउन प्रयास गर्दा अटेर गरेपछि थप कानुनी कारबाहीका लागि प्रहरीमा पत्राचार गरिएको छ ।’

सर्वसाधारणले आफूहरू सहकारीबाट ठगिएको गुनासो नगरपालिकामा गरेका थिए । नगरपालिकाले निक्षेपकर्ताको रकम फिर्ता गराउन ताकेता गर्दा सहकारी सञ्चालकहरूले आलटाल गर्दै आएको जनाएको छ ।

उजुरी परेका सहकारी संस्थामध्ये धनकुटा नगरपालिका–६ मा रहेको ‘हाम्रो कृषि सहकारी संस्था लिमिटेड’ले सबैभन्दा बढी रकम अपचलन गरेको पाइएको छ । उक्त संस्थाका ६० बढी बचतकर्ताको ४ करोड २९ लाख २४ हजार ७ सय १६ रुपैयाँ बचत फिर्ता नगरेको नगरपालिकाले जनाएको छ । संस्थाका अध्यक्ष मञ्जु बस्नेतका नाममा नगरपालिकाले प्रहरीमा थप छानबिनका लागि पत्राचार गरेको छ ।

यस्तै, धनकुटा–६ स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र खड्काका नाममा पनि उजुरी परेको छ । उक्त संस्थाले १८ जना बचतकर्ताको ६ लाख ९६ हजार १ सय २५ बचत फिर्ता नगरेको जनाइएको छ । धनकुटा नगरपालिका–१ मा रहेको अरुण उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गणेश पोख्रेलले सहकारीको बचत, सम्पत्ति हिनामिना गरेको तथा वचत रकम आफूखुसी परिचालन गरी संस्थालाई हानि नोक्सानी पुर्‍याएको दाबी गरिएको छ । संलग्न व्यक्तिहरूले धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ७९ अनुसार कसुर गरी बचतकर्ताको रकम अपचलन गरेको प्रहरीलाई पठाइएको पत्रमा उल्लेख छ ।

सहकारीको मूल्य मान्यता तथा सिद्धान्तले स्व–उत्तरदायी, इमानदारी, पारस्परिक सहयोगजस्ता अवधारणालाई आत्मसात् गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानुनी जिम्मेवारी विपरीत हुने गरी कार्य गरेको नगरपालिका प्रमुख चिन्तन तामाङको भनाइ छ । उनका अनुसार कतिपय कारोबार नाम मात्रको सहकारी संस्थाबाट गरी बचतकर्ताको बचत फिर्ता नगरी वित्तीय उत्तरदायित्व पूरा नगरेको र अपचलन गरेकाले कारबाहीका लागि प्रहरीमा पत्राचार गरिएको छ । ‘कार्यपालिकाको निर्णय अनुसार थप अनुसन्धान र कारबाहीका लागि असार ३० मा प्रहरीमा पत्राचार गरिएको छ,’ उनले भने, ‘नगरपालिकाले कार्यालयमा प्राप्त उजुरी, प्रतिवेदन तथा कार्यपालिकाको निर्णय संलग्न राखी प्रहरीमा पठाइएको छ ।’

उता, जिल्ला प्रहरी कार्यालयले सहकारीको रकम चार्टर एकाउन्टेन्टमार्फत पुष्टि गरेर नगरपालिकाले पठाउनु पर्ने जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी श्यामसिं चौधरीले सहकारीलाई कारबाहीका लागि नगरपालिकामार्फत पत्र पठाइए पनि अपचलन गरिएको रकम अडिटर वा सीएमार्फत पुष्टि गरेर पठाउन जरुरी रहेको बताए । तर, आफ्नो क्षेत्राधिकारभित्रका सहकारीले गरेको अपचलनबारे नगरपालिकाले पुष्टि गरेर पठाउँदा प्रहरीले कानुनी कारबाहीका लागि सहयोग गर्नुपर्ने नगरपालिका स्रोतको तर्क छ । नगरपालिकाका आर्थिक शाखा प्रमुख विकास अधिकारीले अपचलनबारे छानबिन गरी कार्यपालिकाको निर्णयसमेत पठाइएकोले थप पुष्टि गर्न जरुरत नपर्ने दाबी गरे ।

यसअघि नै नगरपालिकाले सहकारी ऐन विपरीत कार्य गरेको भन्दै १७ वटा सहकारी संस्था खारेज गरिसकेको छ । सहकारी संस्था नियमन गर्न सहकारी ऐन, २०७५ विपरीत कार्य गरेको भन्दै नगर क्षेत्रका ७० मध्ये १७ वटा संस्था खारेज गरेको धनकुटा नगरपालिका प्रमुख तामाङले जानकारी दिए । ‘उजुरी परेका संस्थाको रकम डुब्ने अवस्थामा रहेकाले हामीले छानबिनको दायरामा ल्याएका छौं,’ उनले भने, ‘अटेर गरेमा कानुनी दायरामा ल्याएर निक्षेपकर्ताको रकम फिर्ता गराइने छ ।’

यस्तै, नगरपालिकाले सहकारीमार्फत ऋण लिएर साँवा/व्याज फिर्ता नगर्ने ऋणीको समेत तीनपुस्ते विवरण संकलन थालेको छ । सम्बन्धित सहकारी संस्थाहरूमार्फत विवरण माग गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । ऋण लिएर नतिर्ने र सहकारी ठगीबारे गहिरिएर छानबिन गर्नुपर्ने अवस्था आएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

प्रकाशित : श्रावण २, २०८१ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×