कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

स्वास्थ्य मन्त्रालयले 'नेपाल हेल्थ समिट २०२४' गर्ने

भाद्र ११, २०८१
स्वास्थ्य मन्त्रालयले 'नेपाल हेल्थ समिट २०२४' गर्ने

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार गर्न 'नेपाल हेल्थ समिट २०२४' आयोजना गर्ने भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू संकलन गर्ने मन्त्रालयको तयारी छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार 'नेपाल हेल्थ समिट-२०२४' गर्ने निर्णय गरेका हुन् । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि आवश्यक कार्यक्रम र नीति निर्माण तथा योजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरूको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्नका लागि आवश्यक सुझाव लिन सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । 'समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,' उनले भने ।

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य सदस्य छन् । यस्तै विज्ञहरूमा डा. रुना झा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि सदस्य रहने छन् ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्ययोजना तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ २०:४६
x
×