कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

बाढीपहिरो : देशभर ४ सय परिवार विस्थापित, सुदूरका ७ जिल्लामा यातायात ठप्प

बाढीपहिरो : देशभर ४ सय परिवार विस्थापित, सुदूरका ७ जिल्लामा यातायात ठप्प

Highlights

  • बाढीले कैलाली, कञ्चनपुर र बर्दियाका करिब ४ सय परिवार विस्थापित
  • डुबानका कारण कैलालीमा १ सय ६२ र कञ्चनपुरमा १०० परिवार विस्थापित, महाकालीमा तीन वर्षयताकै उच्च बहाव

धनगढी, कञ्चनपुर, बर्दिया — पश्चिमी क्षेत्रमा दुई दिनदेखि जारी वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढेर बस्ती डुबानमा पर्दा कैलाली, कञ्चनपुर र बर्दियामा करिब ४ सय परिवार विस्थापित भएका छन् । बिहीबारदेखिको अत्यधिक वर्षाका कारण भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा खसेको पहिरोले सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक यातायात ठप्प भएको छ ।

बिहीबार राति डडेलधुराको साहुखर्कमा गएको पहिरो पन्छाइए पनि शुक्रबार दिउँसो त्यसनजिकै मेलखर्कमा खसेको पहिरोका कारण तराईबाट पहाडी जिल्ला जाने र पहाडबाट तराई झर्ने क्रममा रहेका एक सयभन्दा बढी यातायातका साधन रोकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

सडकमा खसेको ठूलो ढुंगा फुटालेर पन्छाउने प्रयास भए पनि रातिसम्म सम्भव भएको छैन । पहिरोका कारण मेलखर्कमा सयौं यात्रु अलपत्र छन् । बिहीबारदेखि सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा निरन्तरको वर्षाले जनजीवन प्रभावित छ ।

डुबानका कारण कैलालीमा विभिन्न स्थानीय तहका १ सय ६२ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार जानकी गाउँपालिका–४ गिरधरपुरका १५ परिवार, वडा ७ फरेलाका १७, टीकापुर–८ बनगाउँका १ सय १० परिवार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै जोशीपुर ३ भितरियामा ३ परिवार, भजनी ९ खुणी कुरखरियाका १३ परिवार, गोदावरी ११ का ३ विस्थापित ३ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लगातारको वर्षापछि महाकालीसँगै अन्य नदीनालामा आएको बाढीका कारण कञ्चनपुरका आधा दर्जन बस्तीका एक सय बढी परिवार विस्थापित भएका छन् । दोधारा चाँदनी, भीमदत्त र पुनर्वास नगरपालिकामा नदीनालाको बाढी बस्तीमा पसेका कारण स्थानीय विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा दोदा नदीको बाढी बस्तीमा पस्दा ४५ परिवार विस्थापित भएका छन् ।

यसैगरी महाकालीको बाढीले भुजेला खोलाको बहाव रोकिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ मा ३० परिवार विस्थापित भएका छन् । भुजेला खोलाको बहाव रोकिएपछि बस्ती पसेको हो । महाकालीकै बाढीले जोगबुडा नदीको बहाव रोकेपछि दोधारा चाँदनी नगरपालिका–१० का कुतियाकभर, शान्ति टोल, निशानी टोल, बैदी फाँटा, वडा ८ का सुन्दरनगर र वडा ३ को पटेरा खल्लाका गरी करिब ६० परिवार विस्थापित भएका छन् ।

शुक्रबार बिहानैदेखि महाकालीमा पानीको वहाव बढेको थियो । अन्य खोला नालामा पनि बाढी आएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको मापन अनुसार महाकालीमा पानीको वहाव ४ लाख ६१ हजार क्यूसेक पुगेको छ । जुन तीन वर्षयताकै उच्च हो । २०७८ मा महाकालीमा हालसम्मकै उच्च ५ लाख ४७ हजार क्यूसेक बहाव पुगेको थियो ।

शुक्रबार साँझसम्म बहाव बढ्ने क्रममा रहेकाले अझै जोखिम हुन सक्ने देखिन्छ । महाकालीमा बाढीको सतह खतरा तह पार गरेका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । ‘महाकालीको जलस्तर बढ्ने क्रम जारी छ, अझै बढ्दै गएमा जोखिम हुन सक्छ,’ उनले भने, ‘तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छौं ।’

असार अन्तिम साता आएको बाढीले जिल्लामा ५ सय बढी परिवार विस्थापित भएका थिए । दोधारा चाँदनी नगरपालिका ३ पटेरा खल्लका बासिन्दा राम्ररी पुर्नस्थापित हुन नपाउँदै फेरि विस्थापित भएका छन् । जोगबुडा नदी किनारमै रहेको उक्त बस्तीलाई अन्यत्रै सार्ने विषयमा पनि छलफल भइरहेको नगर प्रमुख किशोरकुमार लिम्बुले बताए ।

‘महाकालीको बाढीेले जोगबुडा थुनिँदा आधा दर्जन बस्ती डुबानमा परेका छन्,’ नगर प्रमुख लिम्बुले भने, ‘विस्थापित हुने क्रम जारी छ, महाकाली र जोगबुडाको जलस्तर बढ्दै गएको छ, अझै कति विस्थापित हुन्छन् केही भन्न सकिँदैन ।’

कर्णाली नदीमा शुक्रबार आएको बाढीले बर्दियाको राजापुर–१ दौलतपुर र चनौरामा करिब एक सय घर डुवानमा परेका छन् । दिउँसो कर्णालीमा आएको बाढीले विस्थापित भएकाहरु सुरक्षित स्थलमा आश्रय लिएर बसेका छन् ।

तटबन्ध नभएको स्थानबाट भदानी खोलाको बाढी पसेर घर डुबान हुनुका साथै धान खेत समेत डुबेको पीडितले बताएका छन् । बुधबाररातिदेखि परेको अविरल वर्षातले कर्णालीमा यस वर्षकै ठूलो बाढी आएको स्थानीय फुलकुमारी थारुले बताइन् । ‘बाढीको भेल एक्कासी गाउँमा पस्न थालेपछि सुरक्षित स्थलमा पुग्यौं,’ उनले भनिन्, ‘वर्षभरि खान जोहो गरेको अन्न पानीले क्षति पुर्‍यायो ।’

बिहान ९ बजे बाढी पस्न थालेपछि पकाएको खाना पनि छाडेर हिड्नु परेको स्थानीयले बताएका छन् । ज्यान जोगिए पनि कच्ची घरमा क्षति पुर्याएको स्थानीय रसमानी थारुले बताइन् । नगरपालिकाले तत्काललाई बास बस्न त्रिपाल र पिउने पानीको व्यवस्था गरेर प्रभावितको तथ्यांक संकलन गरिरहेको छ ।

राजापुर नगर प्रमुख दिपेश थारुले साझबाट जलस्तर घट्दै गए पनि धेरैजसोको घरमा क्षति पुगेकाले तत्काल फर्कने अवस्था नभएको बताए । उनले विस्थापितका लागि शनिबार बिहानबाट खानेकुराको व्यवस्था गरिने बताएका छन् । कर्णालीमा ११ दशमलव ३ मिटर माथि पानी बगेको छ । ११ मिटर पुग्न साथ कर्णालीमा बाढी आउने गर्छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढी प्रभावित क्षेत्रमा राजापुर–१, गेरुवा–२ राजीपुरलगायत बबई तटीय क्षेत्रका बासिन्दादलाई उद्दार गरी सुरक्षित स्थानमा राखिएको उनले बताइन् । यसैगरी गुलरिया–६ बालापुरस्थित बबईको बाढीले एक दर्जन बढी घर डुबानमा परेका छन् । वर्षा नरोकिएकाले स्थानीय प्रशासनले नदीमा माछा मार्ने, दाउरा बटुल्ने काम नगर्न तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ २०:४०
×