कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

विश्वमञ्चमा दुई रोल्पाली

आश्विन २, २०८१
विश्वमञ्चमा दुई रोल्पाली

Highlights

  • थबाङका अल्ट्रा धावक मनकुमार एक साताअघि स्विट्जरल्यान्डमा आयोजित ‘अप हिल ट्रेल रेस’ प्रतियोगितामा विजयी भए, दुवै घुँडाभन्दा तलको भाग गुमाए पनि सगरमाथालगायत हिमाल आरोहण गरेका रोल्पाकै हरिबहादुर बेलायतमा रहेर विभिन्न साहसिक क्रियाकलापमा सक्रिय छन्

रोल्पा — एक साताअघि स्विट्जरल्यान्डमा आयोजित ‘अप हिल ट्रेल रेस’ प्रतियोगितामा रोल्पा थबाङका अल्ट्रा धावक मनकुमार रोका मगरले पहिलो स्थान हात पारे । ६.३ किलोमिटर लामो दौडमा विश्वका २ सय ८० जना प्रतियोगीलाई पछि पार्दै मनकुमारले सफलता हासिल गरेका हुन् ।

उनी यसअघिको १० किमिको दौडमा ३ सेकेन्डले पछि पर्दा दोस्रो भएका थिए । दर्जन चरणमा भएका दौड प्रतियोगितामा भाग लिएर नेपाल फर्कने तयारीमा रहेका मनकुमारले कान्तिपुरसँग भने, ‘गाउँमा जन्मेको मैले यति टाढा आएर प्रतियोगिता जितेर मुलुकको नाम चिनाउन पाउँदा खुसी छु ।’

थबाङ–१ निवासी २२ वर्षीय मनकुमार खेल क्षेत्रमा लागेको करिब १५ महिना मात्रै भएको छ । नेपालमा धेरैपटक हिमाल–पहाडमा आयोजित दौड प्रतियोगितामा भाग लिएर चर्चा कमाएपछि उनलाई स्विट्जरल्यान्डस्थित क्लबहरूले निम्तो गरेका हुन् । ‘मलाई स्विट्जरल्यान्डको ट्रासिस यांकी रनिङ क्लब अफले गत मे २०–२२ तिर पहिलो पटक सम्पर्क गरेका थिए । निरन्तर सम्पर्कपछि क्लबले जुलाई १ मा स्विट्जरल्यान्ड आउने निम्तो दियो । यहाँ आएपछि सफलता मिल्यो,’ उनले भने ।

मनकुमारले स्विट्जरल्यान्डमा ५० किमि र ३० किमिका दुई ठूला रेस प्रतियोगितामा पनि भाग लिए । ५० किमिको दौडमा आठौं र ३० किमिको दौड प्रतियोगितामा तेस्रो भएका थिए । ७० किमिको ट्रेल रेस प्रतियोगितामा भाग लिए पनि हिउँ परेकाले प्रतियोगिता सम्पन्न हुन सकेन । समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाइको स्थानमा आयोजना गरिएका ट्रेल रेस प्रतियोगितामा उनले भाग लिएका हुन् । स्विट्जरल्यान्डमा साढे दुई महिनासम्म विभिन्न दौड प्रतियोगितामा भाग लिएर मनकुमार नेपाल फर्कंदै छन् ।

‘विगतमा लाहुरे हुने भनेर धेरैपटक प्रयास गरें तर सकिनँ । खेल क्षेत्रमा लागेपछि भने सफलता मिल्यो । अब यसै क्षेत्रमा लाग्छु,’ उनले भने । रोल्पाका अधिकांश युवाको पहिलो रोजाइ लाहुरे बन्ने नै हुन्छ । मनकुमारले पनि ब्रिटिस सेनामा भर्ना हुन दुई पटक पोखरामा अन्तिम छनोट प्रतियोगितामा भाग लिए तर सफलता मिलेन । त्यसपछि अल्ट्रा रेस प्रतियोगितामा भाग लिने विचार गरे । स्थानीयदेखि राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा भाग लिएर नाम कमाएका उनले मुलुकबाहिर पुगेर उपाधि हासिल गर्न पाउँदा खुसी लागेको अनुभव सुनाए । ‘खेल क्षेत्रमा लागेर देशको नाम र झन्डा चम्काउने मौका पाएँ, खुसी छु,’ उनले भने ।

यस्तै, रोल्पा मिरुल गाउँका पूर्वब्रिटिस सैनिक ४३ वर्षीय हरिबहादुर बुढा मगरले २०८० जेठ ५ मा सगरमाथा आरोहण गरे । ब्रिटिस सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तानमा भएको बम विस्फोटमा परेर उनले दुवै खुट्टा गुमाएका थिए । खुट्टा नभएका कारण सगरमाथा चढ्न अनुमति नपाएपछि सर्वोच्च अदालत मुद्दा पुगे । मुद्दा जितेर आरोहण गरिछाडे । दुवै घुँडाभन्दा तल गोडा गुमाएका उनले सगरमाथा चढ्न ‘कन्क्वेरिङ ड्रिम्स’ अभियान चलाएका थिए, जसलाई ब्रिटिस गोर्खा वेलफेयर ट्रस्ट र बेलायती राजकुमार ह्यारीले पनि साथ दिएका थिए ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायता लिएर सगरमाथा चढेका उनले घुँडाभन्दा तल अंग विच्छेद भएको व्यक्तिले सगरमाथा आरोहण गरेको रेकर्ड कायम गर्न सकेको बताए । सगरमाथा चढ्नुअघि उनले किलिमन्जरो, मेरा पिक, बेन नेभिसलगायतको आरोहण गरेका थिए । उनको मिहिनेत र साहसलाई देखेर ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टले एम्बेसडर बनाएको छ । ‘सबैले ममाथि विश्वास गरेका छन् । साहसिक र सामाजिक कार्यमा सहभागी भइरहेको छु,’ उनले भने ।

अहिले उनी रोल्पामा सामाजिक जागरण र शैक्षिक अभियानमा सक्रिय छन् । दुर्गम गाउँमा जन्मेर कठिन मिहिनेतपछि सगरमाथाको चुचुरोमा पुग्न सक्नुलाई उनी आफ्नो जीवनकै महत्त्वपूर्ण क्षण मान्छन् । उनी भन्छन्, ‘युद्धमा मैले खुट्टा गुमाएपछि कतिपयले अब कसरी बाँच्ने र के गर्ने भन्नेसमेत प्रश्न गरेको सुनें ।’ तर उनले हार खाएनन् । युद्धबाट बाँचेको नयाँ जीवनलाई सामाजिक कार्यमा लगाउन र अपांगता भएर पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्न साहसिक कामप्रति इच्छा राखेको उनले बताए ।

१९ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ना भएका उनका तीन सन्तान छन् । बेलायतमा बस्दै आएका उनी बेला बेला नेपालका गाउँमा पुग्छन् । आफ्नो जन्म गाउँ मिरुलमा रहेको र उनले प्राथमिक तहको शिक्षा प्राप्त गरेको विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । ‘म जन्मेको भूमिको प्रेम र यहाँका मानिसको मायाले मलाई बेला बेलामा आउन मन लाग्छ,’ उनले भने ।

सगरमाथा चढेको एक वर्षबीचमा उनी कम्तीमा दुई पटक रोल्पामा आइसकेका छन् । युद्धमा गुमाएका दुवै खुट्टामा फलामको खुट्टा जोडेर उनी दुर्गम गाउँमा पनि पुगेका छन् । साथै उनले सगरमाथा चढ्दा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन् । हरिबहादुर बुढामगर फाउन्डेसन खोलेर उनले सगरमाथा चढ्ने क्रममा ज्यान गुमाएका शेर्पाका परिवार तथा अन्यलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २, २०८१ ०९:०९
x
×