कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

लुम्बिनीका १० जिल्लामा नयाँ डीएफओ

भाद्र ११, २०८१

देउखुरी — लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयअन्तर्गतका १४ वटा डिभिजन वन कार्यालयमध्ये १२ वटामा डिभिजनल वन अधिकृत (डीएफओ) फेरिएका छन् ।

एउटै कार्यालयमा दुई वर्ष अवधि पुगेका डीएफओको मन्त्रालयले सरुवा गरेको हो । रोल्पाका प्रेमशंकर चौधरी र पाल्पाका नारायणदेव भट्टराईको दुईवर्षे अवधि नपुगेकाले सरुवा गरिएन । मन्त्रालयका अनुसार गुल्मीबाट नवलपरासी सरुवा भएका जीवन पंगेनी मंगलबार हाजिर भएको जानकारी गराएका छन् । अरु डिभिजनल वन अधिकृत अझै हाजिर भएका छैनन् ।

मन्त्रालयले अर्घाखाँचीका डीएफओ ईश्वरीप्रसाद पौडेललाई दाङ र दाङका मोहन श्रेष्ठलाई अर्घाखाँची पठाएको छ । यस्तै रुकुमपूर्वका डीएफओ जितेन्द्रसिंह खड्कालाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बुटवल सारिएको छ ।

वन मन्त्रालयले सहायक रेञ्जरदेखि अधिकृतसम्म सरुवा गरेको हो । मन्त्रालयका सहायक वन अधिकृत केशर खड्काका अनुसार सातौं/आठौं तहका ८५ जना, पाँचौं/छैठौंका ३९, फरेस्ट १० जना र २३ जना वन रक्षक गरी १ सय ५७ जनालाई मन्त्रालय सचिवस्तरीय निर्णयबाट हेरफेर गरेको हो । ‘लामो समय एकै ठाउँमा बस्दा प्रभावकारिता घटेर जाने भएकाले दुई वर्ष अवधि पुगेका सबैलाई नयाँ ठाउँमा मन्त्रालयले जिम्मेवारीमा खटाएको छ,’ मन्त्रालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी डिलाराम पौडेलले भने, ‘नयाँ जिल्लामा काम गर्न ऊर्जा हुन्छ ।’

मन्त्रालयअन्तर्गत लुम्बिनीका १२ जिल्लामा १४ वडा डिभिजन वन कार्यालय रहेका छन् । कपिलवस्तुको तौलिहवा र चन्द्रौटा एवं दाङको घोराही र देउखुरीमा डिभिजन वन कार्यालय छन् भने अरु जिल्ला सदरमुकाममा एउटै कार्यालय रहेका छन् । लुम्बिनीमा ८६ वटा सव–डिभिजन कार्यालय सदरमुकामबाट टाढा र गाउँमा छन् । डिभिजन वन कार्यालयमा सरुवा भएका नयाँ डीएफओले सव–डिभिजन कार्यालयमा नयाँ वन अधिकृत खटाउनेछन् । प्रायः सबैजसो सव–डिभिजन कार्यालयका अधिकृत हेरफेर भएका छन् । लुम्बिनी प्रदेश सरकारले वनलाई राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा राखेको छ ।

प्रकाशित : भाद्र ११, २०८१ २१:१४
x
×