कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

चार वर्षमा पनि बनेन बेथरी-मर्चवार जोड्ने पाँच किलोमिटर सडक

भाद्र ११, २०८१
चार वर्षमा पनि बनेन बेथरी-मर्चवार जोड्ने पाँच किलोमिटर सडक

Highlights

  • थप गरिएको अवधिमा पनि निर्माण पूरा हुनेमा आशंका

तिलोत्तमा — लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको हुलाकी सडक खण्डअन्तर्गत रूपन्देहीको कुलवनिया (बेथरी)देखि मर्चवारस्थित भारतीय सीमा नाका खैराघाटसम्मको सडक निर्माणमा ढिलाइ भएको छ ।

मायादेवी गाउँपालिकाको बेथरीबाट मर्चवार जोड्ने उक्त सडक ४ लेनको निर्माण भइरहेको छ । नहरको दायाँबायाँ निर्माण भइरहेको सडकको काम अहिले सुस्त छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले सडक विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार ०७७ कात्तिक १६ मा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । निर्माणका क्रममा सडकको बीच र छेउका रुख कटानमा ढिलाइ हुँदा निर्माण प्रभावित भएको हो ।

जसले गर्दा सम्झौता अवधिमा निर्माण पूरा नहुँदा म्याद थप्नु परेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको लम्बाइ २१ किलोमिटर रहेको छ । तर, पहिलो चरणमा ५ किलोमिटर निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर हितेन्द्र रायमाझीले बताए । उनका अनुसार चालु आर्थिक वर्षसम्म वित्तीय प्रगति ७७ प्रतिशत मात्र भएको छ ।

दुई वर्षसम्म सडक किनारका रुख काट्न नपाउँदा काम सुस्त भएको उनले बताए । उक्त सडक खण्डको जमिन केन्द्रीय सरकारका नाममा रहेको थियो । ‘उक्त सडकलाई प्रदेश मातहत राख्न नमिलेपछि केन्द्रीय सरकारको निर्णय पर्खनुपरेको थियो,’ उनले भने, ‘निर्णय भएर आएपछि जिल्ला वन कार्यालयमार्फत सामुदायिक वनसँग समन्वय गरी रुख काटेपछि निर्माणको काम अघि बढ्यो ।’

त्यसैले उक्त सडक निर्माणका लागि २ प्याकेजमा काम गर्नुपरेको उनले जनाए । अहिले ५ किलोमिटर सडक खण्डमा रहेका १ सय १७ वटा रुख कटान भएका छन् । स्थानीय गुरुवचन यादवले सडक पूरा नहुँदा नागरिकले सास्ती बेहोनु परेको बताए । वर्षायाममा दुर्घटना बढी भइरहेको उल्लेख गर्दै सरकारले यस्ता पूर्वाधारका काम फास्ट ट्र्याकमा गर्नुपर्ने बताए । ‘हामीले धुलाम्य र हिलाम्य सडकमा ३ वर्ष काटिसक्यौं, तर पनि निर्माण पूरा हुन सकेको छैन,’ उनले भने, ‘काम थोरै बाँकी छ तर यत्तिकै रोकिएको छ । अब पनि यो बन्ला भनेर ढुक्क हुन सकिने स्थिति छैन ।’

२६ करोड ३८ लाख रुपैयाँ लगानीमा ठेक्का सम्झौता भएको सडकमा क्रमागत रूपमा बजेट आइरहे पनि पूरा गर्नका लागि बजेट अभाव भएको इन्जिनियर रायमाझीले जानकारी दिए । बहुवर्षीय योजना भएकाले प्रत्येक वर्ष आफूहरूले यो योजना निर्माण गर्न कति बजेट चाहिन्छ भनी प्रदेश सरकारको सम्बन्धित निकायलाई खण्ड/खण्ड छुट्याएर प्रस्ताव गर्ने गरेको उनले बताए । स्वीकृत भए पनि सो अनुसारको बजेट निरन्तर रूपमा नआउँदा नै समस्या भएको उनको भनाइ छ ।

‘हामीले निर्माण व्यवसायीले गरिसकेको कामको समेत भुक्तानी दिन नसकेको अवस्था छ,’ उनले भने, ‘लुम्बिनी अर्घाखाँची बाबु जेभीले ४.७ किलोमिटर सडक निर्माणका लागि २६ करोड ३८ लाखको लागतमा ठेक्का लिएको थियो ।’ ठेक्का सम्झौता अनुसार २०८० जेठ २ मा सडक निर्माण सक्नुपर्ने थियो । बहुवर्षीय योजनाका रूपमा अघि बढाइ ३ वर्षे म्याद हुँदासमेत सडकको काम सम्पन्न भएन । काम अघि नबढेपछि २०८१ कात्तिक मसान्तसम्मका लागि दोस्रो पटक म्याद थप भएको छ ।

निर्माण कम्पनीका ठेकेदार नफिस खानले बजेट नपाएकाले काम अघि बढाउन नसकेको बताए । ‘हामीले काम खुरुखुरु गरिहाल्थ्यौं,’ उनले भने, ‘पहिले रुख कटान ढिला भयो, पछि बजेट अभाव भइदियो, त्यसैले ५ किलोमिटर बाँकी छ ।’

प्रदेश सरकारले रूपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले यो सडक निर्माण सुरु गरेको हो । यो सडक निर्माण पूरा भएपछि मर्चवारलाई लुम्बिनी, भैरहवा, बुटवल, बेथरीसँग जोड्न सकिनेछ ।

प्रकाशित : भाद्र ११, २०८१ २०:१२
x
×