कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

बल्लतल्ल स्कुल पुग्छन् खल्ला र मुसेट्टीका विद्यार्थी

भाद्र ११, २०८१
बल्लतल्ल स्कुल पुग्छन् खल्ला र मुसेट्टीका विद्यार्थी

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मुसेट्टीका कमल धामी १० कक्षा पढ्छन् । उनले अध्ययन गर्ने ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालय करिब डेढ घण्टाको दूरीमा छ । त्यही भएर उनी घरबाट दुई घण्टाअगावै निस्किन्छन् । अझ बर्खाका बेला भिज्दै, खोला तर्दै विद्यालय पुग्नुपर्छ ।

ब्रह्मदेवदेखि ८ किलोमिटर उत्तर चुरेको फेदीमा पर्छ मुसेट्टी । यो बाटोमा आधा दर्जन सानाठूला खोला पर्छन् । जसका कारण विद्यार्थीले खोला तर्दै विद्यालय पुग्नुपर्छ । पानी परेका बेला चुरेबाट खहरे उर्लेर आउँछ । यस्तो अवस्थामा विद्यार्थी बाटोमै अलपत्रसमेत पर्ने गरेका छन् ।

‘बर्खा भनेर स्कुल नगए पढाइ नै छुट्छ, पानी परेका बेला स्कुल जानै सकिन्न,’ कमलले भने, ‘बाढीले बाटो बिग्रेकाले साइकलमा आउजाउ गर्न पनि गाह्रो हुन्छ ।’ यसै वर्ष एसईई दिने भएकाले पनि उनी पढाइ छुटाउन चाहँदैनन् ।

ब्रह्मदेवदेखि उत्तर महाकाली किनारमा रहेको चुरे फेदीमा तीन वटा बस्ती छन्, खल्ला, टुँडीखेल र मुसेट्टी । तीनवटै बस्तीबाट ५० जना बढी विद्यार्थी अध्ययनका लागि ब्रह्मदेव आउने गरेका छन् । खल्लामा आधारभूत तहसम्मको विद्यालय मात्रै भएकाले त्यसमाथि अध्ययन गर्न ब्रह्मदेव र महेन्द्रनगर आउनुपर्ने बाध्यता छ ।

‘अलि अलि खोला आए त दौडिहाल्छौं, धेरै आएमा स्कुल जान सकिन्न,’ सिद्धनाथ माविमै १० कक्षा अध्ययनरत पूजा खड्काले भनिन्, ‘एकातिर हिँडेरै स्कुल जानुपर्ने पिर, अर्कोतिर बाढीको डर ।’ उक्त क्षेत्रका विद्यार्थीको ध्यान पढाइभन्दा पनि यस्तै समस्यामा अल्झिरहेको हुन्छ ।

गत साता त्रैमासिक परीक्षा सञ्चालन भइरहेको थियो । १० कक्षामा अध्ययनरत विद्यार्थीको पनि विद्यालयले आन्तरिक परीक्षा लिइहेको थियो । जसका कारण विद्यार्थीले बाढी र झरी केही नभनी विद्यालय पुग्नुपरेको अभिभावक वीरेन्द्र विष्टले बताए । उनका अनुसार मुसेट्टी, टुँडीखेल र खल्लाबाट मध्यमिक तहमा अध्ययनरत ५० बढी विद्यार्थी छन् ।

बाटो राम्रो भएका बेला केही विद्यार्थी साइकलमा स्कुल पुग्छन् । तर बर्खाका बेला साइकलमा समेत यात्रा गर्न सकिन्न । अहिले उक्त क्षेत्रका विद्यार्थीको स्कुल आउजाउमै दैनिक ३/४ घण्टा खर्च भइरहेको छ । गर्मीयाममा विद्यालय बिहान ७ बजे नै चल्छ । यस्तो बेला विद्यार्थीहरू बिहान ५ बजे घरबाट हिँड्नुपर्ने अभिभावक बताउँछन् ।

केही वर्षअघिसम्म खल्लामा आधारभूत तहसम्मको मात्रै विद्यालय सञ्चालनमा थियो । अहिले मुसेट्टीमा १ देखि ५ र खल्लामा आधारभूत तहसम्मको पढाइ भइरहेको छ । जसका कारण साना बालबालिकालाई सहज भएको स्थानीय बताउँछन् । ‘घरनजिकैको स्कुल जान पनि बाढी आएका बेला त गाह्रै हुन्छ,’ खल्लाका स्थानीय मीना विकले भनिन्, ‘ठाउँठाउँमा खोला छन्, बालबालिका मात्रै होइन, अरूलाई पनि आउजाउ गर्नै गाह्रो हुन्छ ।’ उनका अनुसार बर्खाका बेला शिक्षकहरूसमेत आउन नसकेका कारण कहिलेकाहीँ विद्यालय बन्द हुने गरेको बताइन् ।

बर्खा लागेपछि ब्रह्मदेवदेखि मुसेट्टी जोड्ने सडक पनि बिग्रेको छ । नगरपालिकाले बेलाबेलामा अवरुद्ध सडक खुलाउँदै आएको छ । खोला–नाला बढी भएका कारण सामान्य वर्षाले पनि सडक अवरुद्ध हुने गर्छ । त्यसपछि चुरे फेदमै भएकाले पहिरो पनि खस्ने गरेको छ ।

विद्यालय पुग्न समस्या हुने र आउजाउमै धेरै समय लाग्ने भएका कारण यहाँका विद्यार्थी माथिल्लो कक्षासम्म कमै पुग्ने गरेको अभिभावकहरू बताउँछन् । उनीहरूका अनुसार अधिकांश साक्षरसम्म मात्रै भएर रोजगारीका लागि भारत पस्ने गरेका छन् । पढाइका लागि विद्यालय टाढा र गाउँमा रोजगारीको कुनै सम्भावना नदेखेपछि उनीहरू भारत पस्ने गरेका हुन् । कतिपय महाकालीमा माछा मारेरै गुजारा चलाइरहेका छन् ।

प्रकाशित : भाद्र ११, २०८१ २०:५३
x
×