कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पहिरोले जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध 

भाद्र २८, २०८१
पहिरोले जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध 

Highlights

  • विद्युत् सेवा पनि अवरुद्ध 

बझाङ — बिहीबार साँझ आंशिक रूपमा खुलेको जयपृथ्वी राजमार्ग शुक्रबार फेरि अवरुद्ध भएको छ । सडकका विभिन्न ठाउँमा पहिरो खसेर जयपृथ्वी राजमार्ग छेउ गाडिएका पोलमा क्षति हुँदा दुई दिनदेखि बझाङमा बिजुली छैन । 

बिहीबार बिहान पाँच बजेतिर जयपृथ्वी राजमार्गको जालेबगरमा खसेको पहिरो राति अबेर पन्छाइएको थियो । शुक्रबार बिहान फेरि त्यही ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । बिहीबार दिनभर र शुक्रबार रातभर परेको अविरल वर्षापछि खसेको पहिरोले जालेबगर, बालुवाटार, भ्यागुते खोलालगायत थुप्रै ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका छन् । दिनहुँजसो सडक अवरुद्ध हुँदा यात्रुहरूले आवागमनमा निकै ठूलो सास्ती झेल्नु परेको छ । 'हिजो साँझदेखि आएका गाडीहरू यतै रोकिएका छन । गन्तव्यमा पुग्न नपाएका यात्रुको विचल्ली छ,' एक जना यात्रु लालबहादुर बोहराले भने, 'धनगढी, महेन्द्रनगर, काठमाण्डौ तर्फ जाने गाडीहरु पनि चल्न सकेका छैनन् ।'

'जालेबगरको पहिरो हटाएर बालुवाटारको पहिरो पन्छाउनका लागि डोजर गइसकेको छ । पानी परिरहेकोले अरु ठाउँमा पनि अवरुद्ध हुने सम्भावना छ,' सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले भनिन्, 'लगातार वर्षा भइरहेकोले यात्रा गर्दा सचेत हुनु पर्ने अवस्था आएको छ ।'

जालेबगरको पहिरोले तार र पोलमा क्षति पुगेका कारण विद्युत् सेवा अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ । मर्मतको लागि प्राविधिकको टोली गइसकेकोले दिउँसोसम्म विद्युत सेवा सुरु हुने केन्द्रले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १०:०२
×