कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

महाकालीमा बाढी : कञ्चनपुरका १०० परिवार विस्थापित

भाद्र २८, २०८१
महाकालीमा बाढी : कञ्चनपुरका १०० परिवार विस्थापित

Highlights

  • महाकालीमा पानीको बहाव तीन वर्षयताकै उच्च

कञ्चनपुर — लगातारको वर्षापछि महाकालीसँगै अन्य नदीनालामा आएको बाढीका कारण आधा दर्जन बस्तीका एक सय बढी परिवार विस्थापित भएका छन् । दोधारा चाँदनी, भीमदत्त र पुनर्वास नगरपालिकामा नदीनालाको बाढी बस्तीमा पसेका कारण स्थानीय विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा दोदा नदीको बाढी बस्तीमा पस्दा ४५ परिवार विस्थापित भएका छन् । यसैगरी महाकालीको बाढीले भुजेला खोलाको पानी रोकिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ मा ३० परिवार विस्थापित भएका छन् । भुजेला खोलाको बहाव रोकिएपछि बस्ती पसेको हो ।

महाकालीकै बाढीले जोगबुडा नदीको बहाव रोकेपछि दोधारा चाँदनी नगरपालिका–१० का कुतियाकभर, शान्ति टोल, निशानी टोल, बैदी फाँटा, वडा ८ का सुन्दरनगर र वडा ३ को पटेरा खल्लाका गरी करिब ६० परिवार विस्थापित भएका छन् ।

शुक्रबार बिहानैदेखि महाकालीमा पानीको वहाव बढेको थियो । अन्य खोला नालामा पनि बाढी आएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको मापन अनुसार महाकालीमा पानीको वहाव ४ लाख ६१ हजार क्यूसेक पुगेको छ । जुन तीन वर्षयताकै उच्च हो ।

२०७८ मा महाकालीमा हालसम्मकै उच्च ५ लाख ४७ हजार क्यूसेक बहाव पुगेको थियो । शुक्रबार साँझसम्म बहाव बढ्ने क्रममा रहेकाले अझै जोखिम हुन सक्ने देखिन्छ ।

महाकालीमा बाढीको सतह खतरा तह पार गरेका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । ‘महाकालीको जलस्तर बढ्ने क्रम जारी छ, अझै बढ्दै गएमा जोखिम हुन सक्छ,’ उनले भने, ‘तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छौं ।’

असार अन्तिम साता आएको बाढीले जिल्लामा ५ सय बढी परिवार विस्थापित भएका थिए । दोधारा चाँदनी नगरपालिका ३ पटेरा खल्लका बासिन्दा राम्ररी पुर्नस्थापित हुन नपाउँदै फेरि विस्थापित भएका छन् । जोगबुडा नदी किनारमै रहेको उक्त बस्तीलाई अन्यत्रै सार्ने विषयमा पनि छलफल भइरहेको नगर प्रमुख किशोरकुमार लिम्बुले बताए ।

‘महाकालीको बाढीेले जोगबुडा थुनिँदा आधा दर्जन बस्ती डुबानमा परेका छन्,’ नगर प्रमुख लिम्बुले भने, ‘विस्थापित हुने क्रम जारी छ, महाकाली र जोगबुडाको जलस्तर बढ्दै गएको छ, अझै कति विस्थापित हुन्छन् केही भन्न सकिने अवस्था छैन ।’

प्रकाशित : भाद्र २८, २०८१ १७:५१
×