कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अपी फेदको स्याउ बजारमा

भाद्र ३१, २०८१
अपी फेदको स्याउ बजारमा

दार्चुला — अपीहिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय बजारमा पुगेको छ । भदौ अन्तिम सातादेखि किसानले उत्पादन गरेका स्याउ बिक्री समेत हुन थालेको हो । अपीहिमालको खण्डेश्वरी, मकरीगाडको स्थानीय स्याउ पुगेको व्यापारीहरु बताउँछन् । यो वर्ष हिमाली क्षेत्रमा स्याउको राम्रो फल लागेको किसानहरुले बताएका छन् । अपिहिमाल–२, ३ र ४ मा यो वर्ष स्याउ उत्पादन राम्रो हुँदा किसान खुसी छन् ।

अपीहिमाल–५ मकरीगाडसम्म यातायातको पहुँच हुँदा पालिका बाहिरका बजारमा पनि स्याउ पुगिरहेको छ । जिल्लाको लटिनाथ, बलाच, गन्ना, गोकुलेश्वरलगायतमा अपीहिमालमा उत्पादन भएको स्याउ किनबेच भइरहेको मार्माका दिपेन्द्र बिष्टले बताए । स्थानीय स्याउ दुई सयदेखि दुई सय २० रुपैयाँ किलोमा बिक्री भइरहेको उनले बताए ।

दार्चुलाको अपिहिमाल गाउँपालिका मात्र होइन्, ब्यास गाउँपालिकाको छाङ्गरु, बुँदी, दुम्लीङ, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका केही ठाउँमा स्याउ फल्ने गर्छ । पछिल्लो समय किसानले व्यवसायिक रुपमा स्याउ खेती समेत गर्न थालेका छन् ।

अपीहिमाल र मार्मामा उत्पादन भएको स्याउलाई बजार र यायायातको पहुँचमा छ । तर, ब्यास, दुहु र नौगाड गाउँपालिकाका किसानलाई भने सधैं बजारको सास्ती खेप्नुपरेको ब्यास–१ छाङ्रुका किसान जितसिह बोहरा बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि किसानले व्यवसायिक रुपमा स्याउ उत्पादन थालेका छन् । जिल्लाका दुई सय हेक्टर क्षेत्रफलमा अहिले स्याउ लगाउने काम भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख एवं कृषि अधिकृत कमल तामाङले बताए ।

उनले जिल्लामा २०७६/७७ देखि पाच वटा स्थानीय तहमा स्याउलाई व्यवसायिक बनाइन थालेको हो । अहिले केही किसानले राम्रै स्याउ उत्पादन गरेका छन् । अझ राम्रो उत्पादनका लागि किसानलाई स्याउ उत्पादनबारे तालिम आवश्यक रहेको उनको भनाई छ । तामाङ्का अनुसार अझै बजारमा स्याउ ल्याइहाल्ने अवस्था छैन् । यहाँको स्याउ असोज महिनामा टिप्दा राम्रो हुने उनले बताए ।

स्याउ जोन सञ्चालक समितिका अध्यक्ष एवं अपीहिमाल–४ का स्याउ कृषक बालकुमारी बोहरा यो वर्ष असिनाले स्याउमा थोरै क्षति पुर्‍याए पनि उत्पादन भने राम्रो भएको बताउँछिन् । उनले अपीहिमालको माथिल्लो क्षेत्रमा फलेको स्याउमा क्षति पुगेको छ । तल्लो क्षेत्रमा भने स्याउ राम्रै छ । जंगली जनावर लाग्ने डरले किसानले समय अगावै स्याउ टिप्न थालेका छन् ।

यसले अझै स्याउको मिठासमा कमी हुन पुगेको ब्यासका कृषि प्राविधिक विशेश्वरप्रसाद बडूले बताए । असोजको मध्यपछि स्याउ टिपे दानाको आकार र स्वाद राम्रो हुने उनको भनाइ छ । ब्यासमा करिब ५० हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार गत वर्ष जिल्लामा एक सय ७० हेक्टर जमिनमा स्याउ खेती गरिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत तामाङका अनुसार गत वर्ष दुई हजार तीन सय ७५ स्याउका बोट किसानलाई अनुदानमा वितरण गरिएको थियो । किसानको मागको आधारमा मौसम सुहाउदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउ लगाइएको छ ।

चालू आर्थिक वर्षमा किसानलाई अझै व्यसायीकरण बनाउन स्याउ उत्पादन, गोडमेल लगाउने तरिका, ग्रेडिङलगायतका विषयमा किसानलाई तालिम दिइने तयारी छ ।

प्रकाशित : भाद्र ३१, २०८१ २०:३७
x
×