कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

भाद्र २८, २०८१
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी — वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो  ।

विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।

विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए । उनले भने, 'बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।'

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिए । उनले भने, 'लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।'

यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ ।

लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरे । उनले भने, 'यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।'

प्रकाशित : भाद्र २८, २०८१ १५:४०
×