कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

पेरिस पारा ओलम्पिक : पलेशाले भेनेजुएला र भरतले जापानका खेलाडीसँग खेल्ने

भाद्र ११, २०८१
पेरिस पारा ओलम्पिक : पलेशाले भेनेजुएला र भरतले जापानका खेलाडीसँग खेल्ने

काठमाडौँ — नेपालका तीन खेलाडीले पेरिस पारालम्पिक २०२४ मा प्रतिस्पर्धा गर्नेछन् । पेरिसमा बुधबार पारालम्पिकको उद्घाटन हुनेछ ।

नेपालबाट तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले पेरिस पारालम्पिकमा सहभागिता जनाउँदै छन् ।

तेक्वान्दो खेलाडीद्वयको प्रारम्भिक प्रतिद्वन्द्वीको मंगलबार टुंगो लागेको छ । ‘ड्र’ अनुसार दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराएका छन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा अगस्ट २९ मा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । उनको स्पर्धा के–४४ विधाअन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा हुनेछ । त्यसमा १२ खेलाडी छन् । भरत वाइल्ड कार्डमार्फत पेरिसमा छनोट भएका हुन् ।

के–४४ विधाकै महिला ५७ केजीमुनि पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध खेल्नेछिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपिचेज खेल्ने अवसर हुने छैन ।

पलेशा भने एसियाली छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिकमा पुगेकी हुन् । चैतमा चीनको ताइयानमा भएको पारालम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पेरिस पुगेकी थिइन् । १९ औं एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशाले टोकियो पारा ओलम्पिक खेलिसकेकी छिन् ।

यस पटक पदक आशा गरिएकी पलेशा टोकियोमा कांस्य भिडन्तमा चीनकी झी खेलाडीसँग पराजित भएकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङ्ल्यान्डको म्यानचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ मा पेरिस पुगेको थियो । तेक्वान्दो टोली व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ छन् ।

पौडीका भीमबहादुरले पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको सेफ दी मिसनमा पारालम्पिक कमिटीका सदस्य सरोज श्रेष्ठ छन् ।

प्रकाशित : भाद्र ११, २०८१ २२:०२
x
×