कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

एसियाका खेलपत्रकार काठमाडौंमा

भाद्र २८, २०८१
एसियाका खेलपत्रकार काठमाडौंमा

Highlights

  • ‘पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलताले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको प्रमाणित’

काठमाडौँ — एसियाली खेलकुद पत्रकारको छाता संगठन एआईपीएस एसियाको २५ औं कंग्रेस काठमाडौंमा सकिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को बिहीबार होटल एभरेस्टमा भएको कार्यक्रमको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले देशले खेलकुदबाट ऐतिहासिक सफलता पाउनु र र खेल पत्रकारिताका लागि एसियाका पत्रकार नेपालमा जुट्नुले गौरवान्वित महसुस भएको बताए । उनले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालमा एआईपीएस एसियाको २५ औं कंग्रेसलाई आतिथ्यता दिन पाउँदा खुसी मिलेको र डिजिटल युगमा खेलपत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलपत्रकार भेला हुनु नेपालका लागि ठूलो अवसर भउको बताए ।

उनले विकासशील राष्ट्रको रूपमा खेलकुद लगानीमा चुनौतीहरू भए पनि आफ्ना खेलाडीले विश्व मञ्चमा गर्विलो इतिहास सिर्जना गर्नु सुखद क्षण रहेको स्मरण गराए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुद पत्रकारिताले फड्को मारिरहेको अवस्थामा एसियाका खेल पत्रकारको कंग्रेस हुनु अत्यन्तै सराहनीय रहेको चर्चा गरेका थिए ।

यस एआईपीएस एसिया कंग्रेसमा ३० राष्ट्रका झन्डै ५० भन्दा बढी खेलपत्रकारको सहभागिता थियो । उद्घाटन सत्रमा एआईपीएस एसियाका अध्यक्ष ही डोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलताले स्पष्ट पारेको सुनाए ।

उद्घाटनसत्रपछि भारतीय पत्रकार प्रार्थना हजारिकाले ‘मोडरेट’ गरेको महिला सशक्तीकरणबारे छलफलमा पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य जितेकी तेक्वान्दोकी पलेशा गोवर्धन, नेपाल टेलिभिजनकी शिवानी थापा, चीनकी महिला पत्रकार र ई–स्पोटर््स एसियाकी प्रतिनिधि सहभागी थिए ।

नेपाल पर्यटन बोर्डले नेपालको विश्वसम्पदा सूचीमा रहेका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा–संस्कृति, हिमाल– पहाड–तराई र देशको भौगोलिक अवस्थाबारे वृत्तचित्र प्रस्तुत गरेको थियो । पछिल्ला समय लोकप्रिय बन्दै आएको ई–स्पोर्ट्सबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

अध्यक्ष ही डोङ नेपालको सद्भावना दूत

होटल एसोसिएसन अफ नेपाल (हान) ले एआईपीएस एसियाका अध्यक्ष ही डोङ जङलाई नेपालको सद्भावना दूतको रूपमा नियुक्त गरेको छ ।

हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही डोङबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुरूप एआईपीएस एसियाका एक हजारभन्दा बढी सदस्य पत्रकारले नेपाल आउँदा हानसँग आवद्ध होटलमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।

त्यस्तै एआईपीएस एसिया र सीएमआर नेपालबीच खेल पत्रकारिता प्रशिक्षणका लागि पनि सम्झौता भएको छ । एआईपीएस एसिया अध्यक्ष ही डोङ र सीएमआर नेपालका निर्देशक उज्ज्वल आचार्यबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार सीएमआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा दुई खेलपत्रकारका लागि प्रशिक्षण कोटा प्रदान गर्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आंशिक छात्रवृत्तिमा एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।

कंग्रेसमा आएका प्रतिनिधिहरूले शुक्रबार हुने २१ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पनि अवलोकन गर्नेछन् । अवार्ड कार्यक्रम नेपाल प्रज्ञा भवनमा अपरान्ह हुनेछ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:३०
×