कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

फ्रिडमलाई भेट्रान्स उपाधि

आश्विन २, २०८१
फ्रिडमलाई भेट्रान्स उपाधि

मकवानपुर — तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ । काठमाडौंको प्रतिनिधित्व गरेको फ्रिडम फाइटर्स भेट्रान्स टोलीले पूर्वेली क्लब झापालाई ३–२ गोलले पराजित गर्‍यो । फ्रिडमले २ लाख २ हजार २२२ रुपैयाँ र पूर्वेलीले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी पाए ।

पिप्लेक्याम्पा रंगशालामा फाइनलको तेस्रो मिनेटमै नीलेन्द्र देवानको गोलबाट फ्रिडमले अग्रता बनायो । उनैले २० औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए । टोलीका लागि ३७ औं मिनेटमा विकर्ण श्रेष्ठले तेस्रो गोल थपे । त्यसपछि पूर्वेलीले दोस्रो हाफमा दुई गोल गर्दै खेलमा फर्किने सम्भावना देखाए पनि अन्ततः उपविजेतामै चित्त बुझायो । पूर्वेलीका मित्र बस्नेतले ४० औं र रमेश गुरुङले ४३ औं मिनेटमा गोल गरेका थिए ।

सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याच नीलेन्द्र देवान चुनिए । उत्कृष्ट स्ट्राइकर विकर्ण श्रेष्ठ, मिडफिल्डर राजु तामाङ, डिफेन्डर राजकुमार घिसिङ, गोलरक्षक सञ्जिव खड्गी र प्रशिक्षक सुरज श्रेष्ठ चुनिए । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्टले ५ हजार रुपैयाँ पाए ।

पिप्ले युवा क्लबको सहआयोजना एवं रोटर्‍याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा भएको भेट्रान्स फुटबलमा १५ टिमको सहभागिता थियो । पहिलो र दोस्रो संस्करण चितवन भेट्रान्सले जितेको थियो । विजेता खेलाडीलाई रोटरीका अध्यक्ष अनिल अग्रवाल, वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामालगायतले पुरस्कृत गरे ।

प्रकाशित : आश्विन २, २०८१ ०६:०७
x
×