कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

महिला लिग फुटबल : हाबी हुँदै विभागीय टिम

आश्विन २, २०८१
महिला लिग फुटबल : हाबी हुँदै विभागीय टिम

काठमाडौँ — कोशी प्रदेशले एकाएक आफ्नो लय गुमाएको हो वा यो नै अपेक्षित नतिजा थियो ? एन्फा महिला लिग फुटबल सुरु हुँदै गर्दा एक खाले अनुमान थियो, सायद यसपल्ट विभागीय टिमले यसअघिको तुलनामा केही बलियो चुनौती सामना गर्नेछ । लिगको पहिलो चरणले छैटौं चरण छुँदा यो धेरै हदसम्म भ्रम साबित भएको छ । 

अन्ततः फेरि एकपल्ट विभागीय टिम नै हाबी रहने निश्चित भएको छ । सायद कोशीले अझै धेरै मिहिनेत गर्नुपर्नेछ । भलै, शीर्ष पाँचमा रहने टिमका लागि बाँकी प्रतिद्वन्द्वीमध्ये यो नै सबैभन्दा बलियो प्रत्याशी हो । छैटौं चरणको सुरुआती दुई खेल मंगलबार भएको छ । दुवैमा विभागीय टिम सजिलै विजयी हुन सफल भए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा एपीएफले संकटालाई ३–० ले हरायो । हारले शीर्ष पाँच संकटाका लागि अब केही टाढा देखिएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले कोशीलाई ५–० ले सजिलै पन्छाएको हो । कोशी सुरुआती तीन खेल लगातार जितेर अंकतालिकाको शीर्षमा रहेको थियो ।

तर, टोलीले त्यसपछिका तीन खेलमा एक अंकमात्र बटुलेको छ । यसमध्ये दुई खेलमा कोशीले विभागीय टिमविरुद्ध नै हार बेहारेको हो । डिफेन्डिङ च्याम्पियन एपीएफले लगातार पाँचौं जित निकालेपछि टोलीको खातामा १६ अंक भएको छ । एपीएफ शीर्षमै छ । संकटा ५ अंकमा रोकियो । टोलीले पछिल्ला दुई खेलमा एकै अंकमात्र लिन सक्यो ।

एपीएफका लागि सरु लिम्बूले १३ औं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि अनिता केसीले ५१ औं मिनेटमा दोस्रो गोल थपिन् । खेलले ६४ औं मिनेट छुँदा सविता रानामगरले तेस्रो गोल गरिन् । आर्मीको भने १३ अंक भएको छ । कम्तीमा एक दिनका लागि टोली दोस्रो स्थानमा उक्लेको छ । कोशी १० अंकमा रोकिएको छ ।

आर्मीबाट विमला चौधरीले ९ र १० औं मिनेटमा सुरुआती दुई गोल गरिन् । त्यसपछि हिमा चौधरीले २२ औं मिनेटमा तेस्रो गोल गरिन् । अनिता लाम्जेलले ३८ र ६० औं मिनेटमा दुई गोल थपिन् । अनितालाई एउटा तथ्य खुसी पार्नेछ । यो हो, उनको यो खेलको पहिलो गोल लिगकै सय रह्यो । अब बुधबारको खेलमा पुलिसले चन्द्रपुर र कर्णालीले सुदूरपश्चिमको सामना गर्नेछन् ।

प्रकाशित : आश्विन २, २०८१ ०६:०६
x
×