कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

मुख्यमन्त्री-क्यान पदाधिकारी छलफल : मधेश प्रिमियर लिगको तयारी

भाद्र २८, २०८१
मुख्यमन्त्री-क्यान पदाधिकारी छलफल : मधेश प्रिमियर लिगको तयारी

जनकपुर — क्रिकेटको क्रेज मधेशमा बढाउन मधेश प्रिमियर लिग(एमपीएल)का लागि मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीसित छलफल थालेका छन् । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको व्यावसायिकतालाई दृष्टिगत गरी मधेश प्रिमियर लिग आयोजना गर्ने तयारी भइरहेको छ । 

मधेश प्रदेशमा एमपीएल आयोजनाका लागि मुख्यमन्त्री सिंह र क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले जानकारी दिए । जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिंहसमेतको उपस्थितीमा मुख्यमन्त्री सिंह र क्यान अध्यक्ष चन्दबीच यथाशीघ्र एमपिएलको आयोजना गरिने सहमति भएको कर्णले बताए ।

‘मुख्यमन्त्रीजी र क्यान पदाधिकारीबीच एमपीएलको स्वरूप र वित्तीय रूपरेखाका बारेमासमेत चर्चा भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले भने,‘एमपीएलमा ५ वटा टिमले खेल्ने र प्रत्येक टिममा २ जनासम्म ‘ए’ लेभलका खेलाडीको सहभागिता रहनेछ ।’ ती हरेक टिममा ७ जना खेलाडी मधेश प्रदेशकै रहने पनि तय गरिएको उनले जानकारी दिए ।

एमपीलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढ प्रतिस्पर्धाका माध्यमबाट हुनेछ । मुख्यमन्त्री सिंहले एमपीएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताए । उनले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे । उनले एमपीएलबारे आधारभूत कुराको निर्क्यौल भइसकेकाले छिटो यसको आयोजना हुने जानकारी दिए ।

प्रकाशित : भाद्र २८, २०८१ ०९:१०
×